Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनयाँ सत्ता गठबन्धनका ४ दलबीच ८ बुदे लिखित सहमति,आजै बने ३ जना मन्त्री !

नयाँ सत्ता गठबन्धनका ४ दलबीच ८ बुदे लिखित सहमति,आजै बने ३ जना मन्त्री !


काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्यका क्रममा ८ बुँदे लिखित सहमति भएको छ ।

८ बुँदे सहमतिमा शान्ति प्रक्रियालाई सहमतिका आधारमा निष्कर्षमा पुर्‍याउने,गठबन्धन दलबीचमा आपसी सहमति गरेर मन्त्रालय बाँडफाँट गर्ने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक भएका दलहरुसँग संवाद अघि बढाउने उल्लेख छ । चारदलीय नवगठबन्धनले राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने, साझा उम्मेदवारका रुपमा गठबन्धन दलले समर्थन गर्ने सहमति जुटेको छ । गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने सहमति जुटेको एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर डेलिभरीका लागि पहल गरेको दाबी गर्दै यसैका लागि साथ दिइएको बताउनुभयो । अझै ८/१० महिना सत्तामा बस्न पाउने सहज अवस्था भएपनि देश र जनताको हितमा केही गर्ने हुटहुटी प्रचण्डमा देखिएको वाग्लेले बताउनुभयो ।

पहिलो चरणमा तीन मन्त्रीलाई सपथ
नयाँ सत्ता गठबन्धन बनेकै दिन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले सपथग्रहण गरेका छन् । सपथ ग्रहण गरे पनि मन्त्रीहरुलाई अहिले कुनै मन्त्रालय दिइएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल पहिलो चरणमा विनाविभागीय मन्त्री बनेका छन । राष्ट्रपति कार्यालयको सूचनाअनुसार २२ वटै मन्त्रालयका मन्त्री अहिलेसम्म प्रधानमन्त्री प्रचण्डको जिम्मेवारीमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ