Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेट सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

क्रिकेट सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति


काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले अब जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिनुभएको हो ।

उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको र यसअघि नै काठमाडौं जिल्ला अदालतमा धरौटीबापत २० लाख रुपैयाँ बुझाइसकेकाले बाहिर बसेर मुद्दा लड्न पाउने अनुमति दिइएको जानकारी दिनुभयो । बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिनुभएको थियो । सन्दीप काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन यसअघि मुद्दाको पुर्पक्षका लागि नै जेलमा बसिसकेका छन् ।

अब कैदमा बस्नुपर्ने ७ वर्ष ८ महिना २२ दिनको दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम ८ लाख ४५ हजार १०० रुपैयाँ, जिल्ला अदालतले तोकेको ३ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा बुझाउनुपर्ने १२ हजार रुपैयाँ र पीडितलाई भराइदिनुपर्ने राहत २ लाख रुपैयाँ गरी १३ लाख ५७ हजार १०० रुपैयाँ अदालतलाई बुझाउनुपर्ने थियो । धरौटी रकम नै २० लाख बुझाइसकेकाले अदालतले अहिले उनीसँग थप रकम नमागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ