Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमहिनामै एक खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिदै, विद्यार्थीसँगै ५ महिनामा बाहिरियो आधा खर्ब !

महिनामै एक खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिदै, विद्यार्थीसँगै ५ महिनामा बाहिरियो आधा खर्ब !


काठमाडौं । नेपाली अर्थतन्त्र चलायमान बन्न नसकिरहेको अवस्थामा चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह भने मासिक एक खर्ब भन्दा माथि पुगेको छ । गत साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारि दिएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको छ । मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७ दशमलब ६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

विद्यार्थीसँगै बाहिरियो ५ महिनामा आधा खर्ब
नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै चालु वर्षको पहिलो ५ महिनामा मात्रै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएकोमा शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । यो वर्षको पाँच महिनामा १८ अर्ब ५४ करोड बढी विद्यार्थीसँगै थप पैसा बाहिरिएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड हाराहारी रहेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २४ दशमलब ५ प्रतिशत हो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । पछिल्लो ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ रहेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ छ । गत वर्षको पहिलो पाँच महिनामा १ लाख १५ हजार ९४८ रले पुनः श्रम स्वीकृति लिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ