Sunday, 28 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal९ वर्षपछि टी–२० विश्वकप खेल्दै नेपाल, बलिया टिमविरुद्ध यसरी जम्नेछ खेल !

९ वर्षपछि टी–२० विश्वकप खेल्दै नेपाल, बलिया टिमविरुद्ध यसरी जम्नेछ खेल !


काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा नै तीन टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने भएको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल रहेको समूह डी मा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसहित नेदरल्याण्ड्स परेका हुन ।

९ वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालले यसअघि सन् २०१४ मा बंगलादेशम भएको टी २० विश्वकप खेलेको थियो । यो खेलमा समेत नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेर क्रिकेटमा आशा जगाउने काम गरेको थियो । अब टी–२० विश्वकप जुन १ देखि २९ सम्म वेष्ट इन्डिज र अमेरिकामा हुनेछ । नेपालले दुई खेल अमेरिका र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा टेक्सासमा खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । तेश्रो खेल नेपालले दक्षिण अफ्रिकासँग जुन १४ मा र बंगलादेशसँग जुन १६ खेल्नेछ । दुवै खेल सेन्ट भिन्सेन्टमा हुनेगरि खेल तालिका सार्वजनिक भएको छ ।

नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय खेलिसकेको छ । बंगलादेशसँग खेलेको टी–२० अन्तर्राष्ट्रिय सिरिजको एक खेलमा नेपालले हार ब्यहोरेको छ । यता, नेदरल्याण्ड्ससँग टी–२० अन्तर्राष्ट्रियका ९ खेल खेल्दा ४ जितको बराबरीको अवस्था छ । एउटा खेल नतिजाबिहिन बनेको छ । पछिल्लो समय बंगलादेश नेदरल्याण्ड्ससँगको खेलमा समेत कमजोर देखिएकाले नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ । दक्षिण अफ्रिका र श्रीलंका विरुद्ध भने नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यी दुई राष्ट्र बिचको खेलमा समेत नेपाली टिम उत्कृष्ट खेल्नेगरि तयारी अवस्थामा रहेको छ । कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा आफ्नो टिमको प्रदर्शन उत्कृष्ट हुने र समूहचरण पार गर्ने लक्ष्य रहेको बताएका छन् । नेपाल रहेको समूहमा दक्षिण एसियाकै दुई टेष्ट मान्यता पाएका देश प्रतिस्पर्धी भएपनि नेपालको सुधारिएको खेलले समूह चरणमा उत्कृष्ट लय समात्नेमा क्रिकेट प्रेमीहरु आशावादी छन् ।

यस पटक टी–२० विश्वकपमा कूल २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । चार समूहमा विभाजन गरिएको खेलमा हरेक समूहमा पाँच टिम छन् । एक टिमले चार खेल्नेछन् । यस पटक अहिलेसम्मकै धेरै ९ एसोसिएट राष्ट्रले टी–२० विश्वकप खेल्दै भएकाले समेत रोचक भिडन्त हुनेछ । यसअघि टी–२० विश्वकप दुई चरणमा खेलाइएपनि यस पटक भने सबै टिमले उही हैसियतमा खेल्नेछन् । चार समूहको शीर्ष दुई टोली सुपर एट राउण्डमा प्रवेश गर्नेछ । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समुह ए र समुह सी को विजेता तथा समुह बी र समूह डी को उपविजेता सुपर एटको समूह ए मा पर्नेछ । यस्तै समूह बी र डी को विजेता तथा समूह ए र सी को उपविजेता सुपर एट को समूह बी मा पर्नेछ ।

लिग चरणका खेलहरु जुन १ देखि १७ सम्म हुनेछ । यस्तै सुपर एटमा खेलहरु जुन १९ देखि २४ सम्म हुनेछ । सेमिफाइनलमा र फाइनलमा रिजर्भ डे राखिएको छ । सेमिफाइनल जुन २६ र २७ मा हुनेगरि तालिका सार्वजनिक भएको छ । फाइनल खेल जुन २९ मा बार्बाडोसमा हुनेछ ।

यस्तो छ समूह बिभाजन
समूह ए : भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका, क्यानडा
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ