Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआन्दोलन हिंसात्मक बन्दा २ युवाको गयो ज्यान, चौतर्फी आलोचना झेलेकाे सरकारले बनायो छानबिन समिति !

आन्दोलन हिंसात्मक बन्दा २ युवाको गयो ज्यान, चौतर्फी आलोचना झेलेकाे सरकारले बनायो छानबिन समिति !


काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलनकारी र प्रहरीबिच भएको मुडभेडले हिंसात्मक रुप लिदा दुई युवाको ज्यान गयो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा आन्दोलित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएसँगै आन्दोलन हिंंसामा परिणत भएको थियो ।

कतिपयले मन्त्री ज्वालाका कारणले घटना हिंसात्मक बनेको भन्दै आलोचना समेत गरे । तर मन्त्री ज्वालाले भने घटनामा आफ्नो संलग्नता नरहेको, आफ्नो पीएसओले कुनै फायर नखोलेको जवाफ दिनुभएको छ । गरेका छन् । बालुकुमारीमा भएको आन्दोलन हिंसात्मक बन्दा नियन्त्रणमा लिन प्रहरीले गोली नै चलायो । “हुलमुलमा जिउ जोगाउनु अनिकालमा बीउ” भन्ने बुढापाकाको उखान ख्याल नगर्दा डोटीका २३ वर्षीय विरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएको छ । यो घटनाको यतिबेला चौतर्फी निन्दा भइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना माग, मुद्दा राख्न खोज्दा मान्छे मार्न पाइदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामासम्मै मागेको छ । दुई जनाको ज्यान गएको घटना बारे सत्ता घटक दल नेपाली कांग्रेसले समेत गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । सत्ता घटक दल एकीकृत समाजवादी र यसका भ्रातृसंगठनहरुले समेत सामान्य आन्दोलनमा ज्यान लिनेगरि गोली चलाइएको बारे असन्तुष्टि जनाएका छन् ।

यता, सरकारले नै बालकुमारी घटनालाई गम्भिर रुपमा लिएको जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) लालमणी आचार्यको नेतृत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) बासु सिग्देल सदस्य रहनेगरी तीन सदस्यीय छानविन समिति बनाएको छ । यो समितिलाई सात दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्ने युवाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सामान्य आन्दोलन हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्ने बाध्यता परेको जिल्ला प्रहरी परीसर ललितपुरले जनाएको छ । सामान्य आन्दोलनमा मान्छे मारिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै एमालेको भातृसंगठन युवा संघले त प्रदर्शन नै गरेको छ ।

चौतर्फी रुपमा घटनाको आलोचना भैरहँदा सरकारी छानविन समितिले कस्ता तथ्य औल्याउँला, अब बालकुमारी घटनाको ध्यान छानविन समितिको अनुसन्धान तर्फ सोझिएको छ । प्रहरीको बल प्रयोगबाट ज्यानै जानेगरि भएको घटनाले सरकारलाई नै नैतिक दबाबमा पारेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ