Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्डका यस्ता छन आगामी कामका प्रतिबद्धता, कता पुग्यो मन्त्री फेर्ने एजेण्डा ?

प्रधानमन्त्री प्रचण्डका यस्ता छन आगामी कामका प्रतिबद्धता, कता पुग्यो मन्त्री फेर्ने एजेण्डा ?


काठमाडौं । गत वर्ष पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछी पुष्पकलमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सञ्चालन गरेको मंगलबार एक वर्ष पुरा भएको छ । सत्ताको नेतृत्व गरेको एक वर्ष पुगेको अबसरमा मंगलबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षको प्रगती बिबरण सार्बजनिक गर्नुभएको थियो । आफ्नो एक वर्षे कार्यकाल समग्रमा सफल र उपलब्धीमुलक बनेको दाबी गरेपनि प्रधानमन्त्री प्रचण्डले आफ्नो हुटहुटी अनुसारको काम गर्न नसकेको स्विकार गर्नुभएको थियो ।

अब आफ्नो अनि सिंगो मन्त्रिमण्लकै कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री प्रचण्डले बाहिरका कार्यक्रममा नभइ बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नै आफू सरकारको नेतृत्वमा आएको दाबी गर्नुभएका उहाँले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पद ओगटेर बस्न नहुने भन्दै पद छाडेर सहयोग गर्न सांकेतिक दबाब समेत दिनुभएको छ । मन्त्रीहरुप्रति संकेत गर्दै प्रधानमन्त्री दाहाललले हरेकले आआफनो भुमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको र जनअपेक्षा अनुसार काम गर्न नसकेका आफू समेत कुर्सिका लागि मरिहत्तेगर्नुपर्ने पक्षमा नरहेको जिकिर गर्नुभएको छ ।

यस्ता छन प्रधानमन्त्री प्रचण्डका आगामी कामका प्रतिबद्धता

तेस्रो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा,स्वास्थ्य, केही महत्वपूर्ण पूर्वाधार, व्यापार निर्यात र रणनीतिक आयोजनाहरुको कामकारबाहीलाई तिब्रता दिने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्य गलत प्रमाणित गर्दै छिट्टै पानी ल्याउने प्रतिबद्धतादेखी विश्वविद्यालयको राजनीति तोड्नेसम्मको प्रतिबद्धता गर्नुभएको छ । अबदेखि विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नभएर विश्वभर छरिएर रहेका योग्य जोकोही नेपाली नागरिकले प्रतिस्पर्धाबाट नेतृत्व गर्न पाउने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डको छ । प्रचण्डले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने, निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिजुलीको उज्यालो अब देशकै उज्यालो बनाउने दिशामा अघि बढ्ने, अब सरकारको ध्यान गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा केन्द्रित हुने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको छ । २०८० को दशक तीव्र विकासको दशक हुने दाबी गर्नुभएका प्रधानमन्त्री प्रचण्डले शासकीय सुधार आफ्नो प्रतिवद्धता रहेको बताउनुभएको छ । प्रशासन लगायतका समग्र शासकीय पक्षमा सुधार गर्न आफ्नै अध्यक्षतामा शासकीय सुधार आयोग बन्ने दाबी समेत गर्नुभएको छ । नेपाल औषधी लिमिटेडमार्फत औषधीमा आत्मनिर्भर बन्ने, संघीयताको गाँठो फुकाउने आवश्यक सबै पहल गर्ने, तीन तहका सरकार बिचको आपसि समन्वयबाट देश र जनताको पक्षमा प्रभावकारि काम गर्ने प्रतिबद्धता समेत एकवर्षे कार्यकाय पुरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले गर्नुभएको छ ।

सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले जस लिन खोज्नुभएको छ । सरकारले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको दाबी गरिएको छ । प्रधानमन्त्री दाहालले आफू हरेक ठाउँमा झांगिएको राजनीतिलाई विस्तापित गर्ने अभियानमा गम्भिर भएर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ