Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल–अष्ट्रेलिया सिधा उडान अब छिट्टै, अष्ट्रेलियन नागरिक उड्डयनको उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स ! 

नेपाल–अष्ट्रेलिया सिधा उडान अब छिट्टै, अष्ट्रेलियन नागरिक उड्डयनको उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स ! 


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । सन् २०१९ मा नेपाल र अष्ट्रेलिया बिच हवाई सम्झौता भएपनि अबको केही महिनाभित्रै उडान सुरु गर्नेगरि सबै तयारी पूरा भएको निगमका प्रवक्ता रमेश पौडेलले नेपालट्युबलाई जानकारी दिनुभएको हो ।

यसअघि नै अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको निगमले आवश्यक सबै प्रक्रिया पूरा गरेर अष्ट्रेलियन नागरिक उड्डयनको उडान अनुमति कुरिरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।‘किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार र शनिबारका लागि पहिले नै स्लट दिईसकेको छ, अष्ट्रेलियन नागरिक उड्डयन प्राधिकरणमा आवश्यक कागजपत्रसहितका सबै पूरा गरेका छौं,अब उडान अनुमति पत्र पाउनासाथ उडान भर्नेगरि तयारी अवस्थामा छौं। ’ प्रवक्ता पौडेलले नेपाट्युबसँग भन्नुभयो । निगमले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अष्ट्रेलियन नागरिक उड्डयनले कागजातको जाँच गरिएका कारण उडान अनुमतिको पत्राचारको प्रक्रिया केही लम्बिएको छ ।

सबै प्रक्रिया पूरा गरेको निगम आफैले, क्यानबेरास्थित दूतावास,नेपाल सरकार, पर्यटन मन्त्रालय सबै च्यानल मार्फत अनुमति पत्रका लागि पहल गरिरहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रक्रियामा रहेको भन्ने जानकारी आएकाले यही समयबाट सिधा उडान भन्न गाह्रो भएपनि केही महिनाभित्रै उडान सुरू हुने प्रवक्ता पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

निगमसँग भएको एयरबस ३३० जहाज सिधा अष्ट्रेलिया उड्न नसक्ने भन्दै सिंगापुरमा तेल भरेर उडान गर्नेगरि तयारी भैरहेको छ । कतिपय प्राविधिक क्षेत्रका जानकाहरुले लागत र कर्मचारी भर्तीको चलखेल भन्दै विरोध पनि गरिरहेका छन् । जे होस्, यसअघि कोभिडको समयमा सिड्नी र मेलबर्नबाट चार्टर्ड उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडान केही समयबाट थाल्ने निश्चित जस्तै बनेको छ ।

करिब दुई लाख नेपाली बसोबास गरिरहेकाले अष्ट्रेलियामा नेपालीहरूको आउजाउ बाक्लो हुने गर्दछ । आमाबुबा तथा आफ्ना परिवारका अन्य सदस्यलाई घुमाउन बोलाउने अष्ट्रेलियावासी नेपालीहरु कहिलेबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सिधा उडान भर्छ ? भन्दै चासोसहित कुरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ