Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको राजधानी सहर र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापनाको पहल !

अष्ट्रेलियाको राजधानी सहर र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापनाको पहल !


काठमाडौं । अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी स्वदेश फर्किनुभएकी काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले यसबारे जानकारी गराउनुभएको हो ।

अष्ट्रेलिया बसाइँकाक्रममा उपमेयर डंगोलले सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरुको भ्रमण र विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियोे । सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल र एसिटीका मुख्मन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भेटवार्ता भएको थियो । एसीटी महिला योजना २०१६ – २०२६ बारे समेत भ्रमणका क्रममा छलफल भएको छ । उपमेयर डंगोलले नेपाल ट्युबका अष्ट्रेलिया सम्पादक सरल गुरुङसंगको बिशेष सम्वादका क्रममा भन्नुभयो–‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु जेम्स बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ । यसका साथै उर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अष्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रर्वद्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माणबारे आवश्यक साझेदारीमा भ्रमण केन्द्रीत भएको छ । खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते अष्ट्रेलिया पुग्नुभएकी डंगोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद विभाग, सामाजिक नीति तथा महिला अन्तराष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गर्नुभयो । मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रममा सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको छ । भेटमा अष्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप। मूल्य र मान्यतालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको थियोे ।

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुमा बैठक र अवलोकन भएको थियो । भ्रमणमा ऐतिहासिक र संस्कृतिक महत्व बोकेको मूर्ति तथा अमूर्त संस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो । सन् १९७१ पछि नेपालबाट गैरकानुनी रुपमा हटाइएको पद्मपनिको मूर्तिलाई न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीले सन् २०१० मा धेरै चरण लगाएर खरिद गरेको र उक्त ऐतिहासिक महत्व बोकेको पद्मपनिको मुर्तिलाई नेपाल फर्काउने आवश्यक पहल र प्रक्रिया बारे कुराकानी भएको समेत डंगोलले बताउनुभयो ।

भ्रमणका क्रममा अष्ट्रेलियाली संघीय सरकारका माननीय पिटर खलिल, अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँगको भृटमा उपमेयर डंगोलले सहरी योजनाको प्राथमिकताहरुको प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति,सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भएको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ