Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंमा युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, मुडभेट रोक्न ७ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौंमा युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, मुडभेट रोक्न ७ हजार सुरक्षाकर्मी परिचालन


काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँचमा कडाइ गरिएको छ ।

ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहदा उपत्यकाको सुरक्षाका लागि ७ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । आन्दोलनको बहानामा अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौं उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्न सुरक्षा निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ ।
बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिएको छ । सशस्त्र प्रहरी दोस्रो लहरमा रहेर सुरक्षा पहरा दिईनेछ। सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका सयौंको संख्यामा प्रहरी समेत परिचालित गरिएका छन् ।

दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि कोही कसैबाट भएमा कानुनअनुसार कारबाही हुने बस्नेतले बताउनुभयो । प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको दाबी सरकारको छ । दुवै पक्षले एक लाख जनाभन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले दुबैका एक लाख पनि नपुग्ने आँकलनसहित निगरानी गरिरहेको छ ।

यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । भेला तथा जुलुसका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या देखिन थालेको छ । यता, राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेर अनुगमन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ