Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने

एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबिचको भिडन्त पक्का भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेपछि भारतसँगको भिडन्त पक्का भएको हो ।

भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेटको क्षतिमा जित हात पार्यो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । आक्रामक इनिङ्स खेल्दै हेडले ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले १८ बलमा एक चौका र ४ छक्का हिर्काउदै २९ रन बनाए । वर्नर लगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । यसपछि आएका पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाए । मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्‍यो । यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्‍याए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्‍याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाउदा कमिन्सले १४ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रियाज साम्सीले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । योसँगै दक्षिण अफ्रिका पुनः एकपटक विश्वकपको फाइनलमा पुग्नबाट चुकेको छ भने अस्ट्रेलिया आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको ब्याटिङमा तीव्र गतिका बलरद्वय मिचेल स्टार्क र जोस हेजलवुडको घातक बलिङले दबाबमा राख्यो । इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १ सय १ रन बनाए । अस्ट्रेलियका कप्तान प्याट कमिन्सको बलमा आउट हुनअघि ११६ बलमा उनले ८ चौका र ५ छक्का हिर्काए । हेनरिच क्लासनले ४८ बलमा ४७ रन बनाए उँदै राम्रो साथ दिए । दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गरेको थियो । स्टार्क र हेजलवुडसामु शीर्ष क्रमका ब्याट्सम्यान निरीह बनेका थिए । दक्षिण अफ्रिकाले १२ औँ ओभरमा मात्र २४ रन बनाउन सकेको थियो भने यस क्रममा चार विकेट गुमायो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिएका थिए । अब फाइनल खेल आइतबार अहमदाबादमा अष्ट्रेलिया र भारत बीच हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ