Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा भव्य बन्यो नेपाली बहुसांस्कृतिक केन्द्र, एकै ठाउँमा भेला भएर मनाइदै दशैं

मेलबर्नमा भव्य बन्यो नेपाली बहुसांस्कृतिक केन्द्र, एकै ठाउँमा भेला भएर मनाइदै दशैं


मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रका नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ । दशैंको अवसरमा विशेष कार्यक्रमसहित अष्ट्रेलिया नेपाल पार्लियामेन्ट फ्रेन्ड्सका संयोजक पिटर खलिल, बहुसांस्कृतिक केन्द्र रहेको क्षेत्रका सांसद शाम रे, वाचन शिरोमणि दिनबन्धु पोखरेल, भिक्टोरिया बहुसांस्कृतिक आयोगकी अध्यक्ष भिभियान न्यूगिन, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

भिक्टोरिया सरकारको सहयोग र बहुसांस्कृतिक केन्द्रको खर्चमा दर्शनार्थीहरुको लागि आवश्यक पर्ने यज्ञ गर्ने ठाउँ, मन्दिरको संरचना, शौचालयलगायत पूर्वाधार तयार पारिएका छन् । भिक्टोरिया सरकारले ३ लाख १० हजार र संस्थाले त्यति नै रकम खर्चेर नेपाली बहुसांस्कृतिक केन्द्र पुननिर्माण गरिएको थियो । उद्घाटन समारोहमा बोल्दै सांसद पिटर खलिलले ग्लेनरोय लगायत आफ्नो क्षेत्रमा रहेका नेपालीहरुको प्रगतिबाट उत्साही रहेको बताउनुभयो ।

अब बहुसांस्कृतिक केन्द्रलाई मिनी नेपाल होइन बिग नेपाल बनाउनुपर्ने भन्दै सांसद शाम रेले बहुसांस्कृतिक केन्द्रको सुरक्षाका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि संघीय सरकारको तर्फबाट समेत अनुदान स्वीकृत भएको जानकारी गराउनुभयो । सांसद र बहुसांस्कृतिक अतिथिको टोलीले स्थापना गरिएका मूर्तिहरुको अवलोकन गर्नुका साथै पुष्पअर्पण समेत गरेको थियो । अवलोकनका क्रममा नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गन्धी भट्टराईले मन्दिरको महत्व, त्यहाँ रहेका भगवानका मूर्तिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

यता, मेलबर्न सप्ताह २ आयोजना गर्दै बहुसांस्कृतिक केन्द्रले दशैंको दश दिन नै विशेष कार्यक्रम गरिरहेको छ । आज जमरा वितरण समेत गरिएको छ । अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले यसअघि आयोजित मेलबर्न सप्ताहले नै यो विशाल संरचनाको जग बसालेको बताउनुभयो । उहाँले पण्डित दिनबन्धु पोखरेलको योगदानको प्रशंसा गर्नुभयो । भिक्टोरियाका नेपालीको एकताले नै यो सफलता मिलेको उहाँको धारणा थियो । कार्यक्रममा बोल्दै सांसद ट्रग लु, एलायन्स अफ साउन एशियन लेबरका प्रविन कुमार लगायतले नेपाली समुदायको एकता अनि सफलताको प्रशंसा गर्दै दशैंको शुभकामना दिनुभएको थियो ।

भिक्टोरियाका पण्डित नारायण दाहालले दशैं, तिहार र छठको महत्वका विषयमा उपस्थितहरुलाई जानकारी गराउनुभएको थियो । मेलबर्न सप्ताह २ का संयोजक अनन्त पौडेलले मेलबर्नको समूदायले देखाएको तत्परताले आफ्नै भूमिमा दशैं मनाउने सपना साकार बनेको धारणा राख्नुभयो । घटस्थापनादेखि सञ्चालित नवाह ज्ञान महायज्ञको सोमबार समापन गरी वाचन शिरोमणि दिनबन्धु पोखरेलले मेलबर्नवासीहरुलाई दशमीको दिन दशैंको टीका लगाइदिनुहुनेछ । मन्दिर परिसरमा राखिएको जमरा निःशुल्क वितरण गरिँदैछ ।

बहुसांस्कृतिक केन्द्रका संस्थापक अध्यक्ष रन्जन वैद्य, पूर्वअध्यक्षहरु डा. चन्द्रदिपक पोखरेल, राजेश आचार्यले संस्थाले हासिल गरेका महत्वपूर्ण चरणहरुको बारेमा जानकारी गराउनुभयो । मेलबर्नमा सन् २०१४ मा दर्ता भई सञ्चालित बहुसांस्कृतिक केन्द्रको जग भने १९९७ बाट नै राखिएको थियो । त्यसबेला अनौपचारिक छलफल र कार्यक्रमहरुमार्फत अघि बढेको यो अभियानले २०१७ मा आयोजना गरिएको मेलबर्न सप्ताहपछि द्रूत गति पाएको थियो । अहिले मन्दिर रहेको १ सय १५ रोपनीभन्दा बढी क्षेत्रफल यो जग्गा नै किनिएको छ ।

अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि नेपाली मन्दिर, गुम्बासहितको संरचना निर्माण गरी नेपाली कला, संस्कृति, परम्पराको जगेर्ना गर्न तथा चाडपर्वहरु सामूहिक रुपमा मनाउन थालेका छन् । धेरै बहुसांस्कृतिक केन्द्रहरु निर्माणको चरणमा छन् । भिक्टोरियामा मन्दिर सञ्चालनमा आइसकेको छ । मन्दिरमा देवी देवताको मूर्तिको प्राणप्रतिष्ठापछि मात्रै २५ हजारभन्दा बढी व्यक्तिहरु सदस्यका रुपमा जोडिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ