Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदशैं सुरु, घटस्थापना देखी टिकासम्म यसरी मनाइदै !

दशैं सुरु, घटस्थापना देखी टिकासम्म यसरी मनाइदै !


नेपालीहरुको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ । बडादशैको पहिलो दिन घर–घरमा जौ, मकै, गहँु आदिको जमरा राख्ने गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको शुभसाइत तोकेको थियो ।

काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ । दशैंघरमा विधिपूर्वक जमरा राख्दा नेपाली सेनाको टुकुडीले सलामी दिएको थियो । नवरात्रीभर मुख्यतः दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाराधना गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतिपयले ब्रम्हाको स्थापना गरेर पुजाआजा गर्ने गर्दछन् । घटस्थापनाका दिन घंैटो अथवा घडामा जल भरेर आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने गरिन्छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरेर जमरा उमार्ने गर्दछन । त्यही अर्को थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । नौ देवीको पूजा अर्चनापछि दशमीका दिन जमरा घरबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसै गरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसती र चण्डी पाठ गर्ने चलन छ ।

सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चण्डमुण्डलगायतका असुरको वध गरेकी दुर्गे भवानीको पूजा विसर्जन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन छ । भक्तपुरमा आजदेखि नवरात्र मेला सुरु हुँदा विजयपुर गढी दन्तकाली शक्तिपीठ, पिण्डेश्वर महादेव, बूढासुब्बा र पञ्चकन्या मन्दिरजस्ता धार्मिक स्थल तथा मठमन्दिरहरुमा पनि नवरात्री मेला मेला सुरु भएको छ ।

नेपालमा मात्रै नभएर अष्ट्रेलिया, अमेरिका, युके लगायत विश्वभर छरिएर रहेका नेपालीहरुले समेत स्थानीय समय र साईत अनुसार दशैंको सुरुवात गरेका छन् । आजबाट सुरु हुने दशैं पुर्णिमाका दिन टिक जमरा बिसर्जनसँगै समापन हुनेगर्दछ । नेपालीहरुले विदेशमा संस्कार र संस्कार बचाउने अभियानका रुपमा दशैंलाई विशेष रुपमा निरन्तरता दिदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ