Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधरानमा सामाजिक सद्भाव भड्कने चिन्ता, प्रधानमन्त्री प्रचण्डको यस्तो अपिल !

धरानमा सामाजिक सद्भाव भड्कने चिन्ता, प्रधानमन्त्री प्रचण्डको यस्तो अपिल !


काठमाडौं । धरानमा धार्मिक सद्भाव भड्कने त्रासदी बढेसँगै यतिखेर स्थानीय प्रशासनले कफ्र्यु (निषेधाज्ञा) आदेश जारी गरेर स्थितिलाई नियन्त्रणमा राख्ने प्रयास गरेको छ । गाई, गोरु काटिएको विषयबाट सुरु धार्मिक आन्दोलन अहिले झिल्कोका रूपमा देखिएको भएपनि धार्मिक सद्भाव भोलिको दिनमा भड्कीएर अन्य क्षेत्रमा भुसको आगोसरि सल्किनेतर्फ सबै सचेत हुनुपर्ने देखिन्छ ।

इटहरी धरान हुँदै देशका विभिन्न स्थानमा यतिबेला हिन्दु धर्मको रक्षार्थ भन्दै बिरोध र्याली निस्किरहेका छन् । धरान क्षेत्रका बिरोध र्यालीमा धरान उपमहानगरका मेयर हर्क साम्पाङबिरुद्ध नाराबाजी भैरहेको छ । धरानमा बाक्लो संख्यामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । हिन्दुमाथी क्रिश्चियनको बलमा प्रहार गरेको आरोप लगाइएको छ ।

सम्भावित मुडभेड र धार्मिक दंगालाई नियन्त्रण गर्ने उद्देश्यले धरानमा निषेधाज्ञाको आदेश जारी गरिएको छ । धरानका नागरिकहरु शान्तिको कामना गरिरहेका छन भने निषेधाज्ञाका कारण यतिबेला धरान सुनसान छ । इटहरी,झापा हुँदै धरानतर्फ अघि बढेको र्याली बिचैमा रोकिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत धरानमा सद्भाव कायम राख्नेगरि मानवअधिकारको रक्षा गर्न सरकार अनि सरोकारवाला सबै नागरिकलाई ध्यानाकर्षण गराएको छ ।

यता, धरानका मेयर हर्क साम्पाङ र १३ राजनीतिक दलले शुक्रबार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपील गरेका छन् । ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्वित हुनेगरी आपसी, सदभाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरुमा हार्दिक अपील गर्दछु’, मेयर साम्पाङले वक्तव्यमार्फत् अपील गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले नेपालीको सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले शनिबार साँझ नै एक अपिल जारी गर्दै भन्नु भएको छ –̒हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।

कांग्रस सभापति शेरबहादुर देउवाको अपिल
सत्तारूढ दल घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा देखिएको द्वन्द्वको विषयलाई लिएर शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्‍याउन नमिल्ने बताउनुभएको छ । केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गर्नुभएको छ । धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्कदा उत्पन्न हुने परिस्थितिलाई मूल्यांकन गर्न सचेत गराउनुभएका देउवाले धर्म, संस्कृतिक पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराउनुभएको छ ।

धर्म र संस्कृति मान्न पाउने स्वतन्त्रता राज्यका हरेक नागरिकलाई छ । तर, धार्मिक स्वतन्त्रता र संस्कृतिक स्वतन्त्रताको नाममा कसैको धर्म, जात, सम्प्रदायमाथि सद्भाव खलबलने द्वन्द्व निम्त्याउने छुट कसैलाई पनि छैन । आज धरानमा देखिएको द्वन्द्व भोलिका दिनमा जनकपुरमा, गढीमालिकामा, पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म भुसको आगोसरि नफैलिएला भन्न सकिन्न । यतातर्फ तपाई हामी सचेत नागरिकका साथै सिंगो राज्य जिम्मेबार अनि सजग बन्नुपर्छ ।

यता, नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेपाल बढ्न थालेको हिन्दु समर्थित गतिबिधिलाई भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको संकेतका रुपमा अर्थ्याउनुभएको छ । नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा पर्ने उहाँको जिकिर रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ