Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिया कप क्रिकेट खेल्ने नेपालको राष्ट्रिय टीम पाकिस्तानमा, सन्दीपमाथी सबैको भर !

एसिया कप क्रिकेट खेल्ने नेपालको राष्ट्रिय टीम पाकिस्तानमा, सन्दीपमाथी सबैको भर !


काठमाडौं । पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागि नेपालको राष्ट्रिय टीम यतिबेला पाकिस्तानमै अभ्यासमा ब्यस्त छ । भदौ १३ गते उद्घाटन खेल आयोजक पाकिस्तानसँग खेल्नुपूर्व नेपाली टीमले उद्घाटन खेल पूर्व नै केही अभ्यास खेलहरू खेल्नेछ ।

भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँग पहिलोपटक भिड्न लागेको हुँदा नेपाली समर्थकहरू निकै उत्साहित छन् । दुवै देशले आफ्नो पहिलो श्रेणीको टीम एसिया कपमा सहभागी गराएकाले नेपालका लागि यी दुई खेल अहिलेसम्मकै चुनौतिपूर्ण हुनेछन् । क्रिकेटका हस्ती भारत र पाकिस्तानसँग नेपाली टीमले प्रतिस्पर्धात्मक क्रिकेट खेल्यो भने ठूलो उपलब्धि मान्न सकिनेमा नेपाली समर्थक छन् ।

सम्भवतः नेपालको इतिहासमै यो सर्वोत्कृष्ट टीम जस्तै बनेको छ । यो टीम विगतमा जस्तो कुनै २÷३ जना खेलाडीमा निर्भर छैन । सबैजनाले आफूलाई ‘म्याच विनर’ सावित गरेकै कारण विश्वकप लिग २ का पछिल्ला १२ म्याचमध्ये ११ वटामा जित दिलाउँदै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो । यद्यपी नेपाल विश्वकपको दौडबाट बाहिरिएको छ । एसिया कपमा नेपालले पाकिस्तानसँगको म्याच पाकिस्तानमै र भारतसँगको म्याच श्रीलंकामा खेल्नेछ ।

यस्तो छ नेपालको शसक्त टिम
ओपनिङ जोडीका रूपमा कुशल भुर्तेल र आसिफ शेख मैदान उत्रिने निश्चित जस्तै छ । तेस्रो नम्बरमा परिस्थिति हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एकलाई पठाइनेछ । त्यसपछि क्रमशः रोहित पौडेल, कुशल\भीम, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी ब्याटिङमा उत्रिनेछन् । ८ देखि ११ नम्बरमा गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहनेछन् । नेपालले एकजना ब्याट्सम्यान कम गरेर ललित राजवंशीलाई पनि प्लेइङ ११ मा समावेश गर्न सक्ने देखिन्छ । कुशल भुर्तेल, कुशल मल्ल, करण केसीले विष्फोटक रूपमा खेल्न सक्छन् । रोहित पौडेल, भीम सार्की र आरिफ शेखले रक्षात्मक खेल्छन् । दीपेन्द्रसिंह ऐरी परिस्थितिअनुसार जस्तो रूपमा प्रस्तुत हुनसक्छन । पछिल्लो क्रममा आउने गुल्शन झा, सन्दीप लामिछाने र सोमपाल कामीसँग पनि ब्याटिङ कौशल भएकाले एसिया कपको भिडन्त रोचक हुने आँकलन गरिएको छ ।

प्रतियोगितामा भारत र पाकिस्तानका ब्याट्सम्यान नेपालका कुनै बलरसँग बढी सचेत हुनेछन् भने ती सन्दीप लामिछाने नै हुन् । यहि कारण नेपालको सबैभन्दा बढी भर सन्दीपमाथि भएपनि उनी व्यक्तिगत जीवनमा तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । अदालतमा बिचाराधिन मुद्दाकै कारण राष्ट्रिय टीमसँग पाकिस्तान जान नपाएको सन्दिप कहिले पाकिस्तान पुग्लान ? उनको मानसिक तनावले खेलमा असर गर्ला कि नगर्ला ? चासोका साथ हेरिदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ