Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews२५ डलरमा ईमान नै दाउमा राख्नेसंग, देशलाई गाली गर्ने नैतिकता हुन्छ र ?

२५ डलरमा ईमान नै दाउमा राख्नेसंग, देशलाई गाली गर्ने नैतिकता हुन्छ र ?


विचार/सरल गुरुङ
डलरको बलमा नेता बन्न खोज्नेसँग म पौठेजोरी खेल्दिन र खेल्न पनि सक्दिन । किनकि, मसँग त्यस्ता ‘सोकल्ड नेता’ र उनीहरुका आसेपासेको दबाबमूलक फोनसँग इन्टर टेन्ट गर्ने समय छैन । मेरो प्रश्न केबल अष्ट्रेलिया लगायत विदेशमा बस्ने तमाम नेपाली जनलाई हो । जोसँग मेरो माटो र भावनाको गहिरो सम्बन्ध छ । मलाई आशा छ ती जनले मेरो कुरा सुन्ने छन्, विचार गर्ने छन् र व्यवहारमा उतार्ने छन् सायद ।

मुख्य विषय सुरु गरौँ है त ।

जुलाई ६ बिहीबार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन समितिले पत्रकार सम्मेलन गरेर बैङ्कको एउटा कार्डबाट बढीमा तीन जना सदस्यको मात्र पैसा तिर्न मिल्ने, यदि त्यो भन्दा बढी तिरेको भेटिएमा बाँकी सदस्यता खारेज गरिने घोषणा गर्‍यो ।

अष्ट्रेलियाको संस्था सम्बन्धी कानुन तथा एनआरएनए अष्ट्रेलियाको आफ्नै विधान अनुसार गरिएको यो घोषणा जति सामान्य सुनिन्छ, व्यवहारमा त्यति नै बोल्ड र असामान्य छ ।

यो घोषणापछि अष्ट्रेलियाको एनआरएन जनमा एक किसिमको भुईँचालो ल्याइदिएको छ । खास गरी मैले सुरुमै उल्लेख गरेजस्तो डलरको बल देखाउन चेष्टा गर्नेहरूलाई यो घोषणाले बढी पोलेको हुनुपर्छ । तर, एनआरएनएको शुद्धीकरण र संस्थालाई बलियो बनाउन चाह नेहरुले भने यो निर्णयको स्वागत गरेका छन् । फेरी पनि भन्छु मेरो निशाना त्यस्ता सो कल्ड नेताहरू होइनन् है, जानकारी भया ।

अब यसको मर्मको चर्चा गरौँ ।

यो घोषणा भएपछि मैले एनआरएनका केही चल्तापुर्जा पूर्व तथा वर्तमान पदाधिकारी र नेताहरूलाई फोन घुमाए । ‘अफ द रेकर्ड है’ भन्दै सोधे- ‘तपाईँले एनआरएनको चुनाव लड्दा कति खर्च गर्नुभयो त ?
उनीहरूको उत्तरले त रगत नै आउला जसरी मैले जिब्रो टोकेछु । अष्ट्रेलियाको अध्यक्ष पदमा चुनाव लड्दा १ देखि डेढ लाख डलरसम्म खर्च गरेका रहेछन् उनीहरूले । राज्यका संयोजक, महासचिव लगायत अन्य ठुला पदहरूमा पनि आधा लाख जति खर्च हुँदो रहेछ ।

नयाँ सदस्य बनाउन लाग्ने शुल्क, ‘इन्टर स्टेट’ हवाई यात्रा, होटेल बसाई, आसोपासेहरुको मोज मस्ती, चुनावी अभियान सारा कुरामा डलरको खोलो बग्दो रहेछ ।

यस्तो सुनेपछि टक्क अडिएर, आफैलाई सोधे एनआरएनए सामाजिक काम गर्ने स्वयम् सेवी संस्था हो कि, कुनै शक्तिशाली राजनीतिक पार्टी ?

दलको चुनाव जित्दा नेता भइन्छ, सांसद, मन्त्री र प्रधानमन्त्री हुने मौका मिल्छ । त्यसैले नेताहरू साम दाम सबै खर्चेर चुनाव जित्न लाग्छन् । एनआरएनएको चुनाव जित्दा त्यस्तो पाइन्छ जस्तो त लाग्दैन, तर पनि हाम्रा ‘सो कल्ड’ नेताहरू किन डलरको खोलो बगाउँछन् होला ?

कुराकानीकै क्रममा एक उपल्लो पूर्व पदाधिकारीले भने, सदस्यता शुल्क त केही होइन, ठुलो खर्च त हवाई यात्रा, होटेल र आसेपासेमै सकिन्छ ।

चुनावी माहौलका बेला जोसमा पैसा खर्च गरेर पछि पछुताउनेहरू पनि भेटियो । तर, कत्तिले भने चुनाव मंहगो हुँदै गए पनि, एनआरएनएको अभियानमा लाग्न पाएकाले पैसा खर्च गरे पनि पछुतो नभएको बताए ।

यो पृष्ठभूमिपछि फेरी निर्वाचन समितिको घोषणामा फर्कौँ है । हालका निर्वाचन समितिका संयोजक हुन्, टोनु घोताने । कानुन व्यवसायी समेत रहेका घोताने सन् २०१७ देखि १९ सम्म आफै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष निर्वाचित भएका थिए । पैसा भएका मात्रै पदाधिकारी हुन सक्ने माहौल बन्दै गएपछि त्यसलाई रोक्न र एनआरएनलाई पारदर्शी, निष्पक्ष तथा जनतामुखी सामाजिक संस्था बनाउन नीतिगत रूपमै सुधार देखिएकाले बैङ्कको कार्डबाट पैसा तिर्ने सीमा तोकिएको घोतानेको भनाई छ ।

उनले सन् २०१९ मा पनि यस्तो व्यवस्था लागु गर्न लागेका थिए तर, थर्ड पार्टी पेमेन्टको स्वतन्त्र भेरिफिकेसन गर्न नसकेपछि रोकिएको घोतानेको भनाई छ ।

यसपालि भने सबै जसो सदस्यताको शुल्क बैङ्ककै कार्डमा भुक्तानी भएकाले लागु गर्न सजिलो हुने उनको दाबी छ ।
महासचिव राजु अधिकारले भने अनुसार, एक महिनाको समयमा साढे २० हजार मानिसले एनआरएनए अष्ट्रेलियाका सदस्यको आवेदन भरेका थिए । ती मध्ये, १४ हजार ५ सय ८० जनाको सदस्यता प्रमाणित भइसकेको छ भने, १५ सय जनाको कागजपत्र नपुगेर प्रमाणीकरण रोकिएको छ ।

४ हजार ९८ जना मध्ये अधिकांशको सदस्यता प्रक्रिया चाहिँ शुल्क नतिरेर ड्राफ्टमा थन्किएको छ । सदस्य बन्न खोज्ने यति धेरै मान्छेले किन पैसा नतिरेका होलान् ? प्रश्न यो पनि छ ।

निर्वाचन समितिले तिनै प्रमाणीकरण भइसकेका तथा पैसा तिरेका तर, कागजपत्र नपुगेका सदस्यहरूले शुल्क भुक्तानी गरेको कार्डमा अर्जुन दृष्टि लगाउन खोजेका हो ।

यत्ति डाटा र पृष्ठभूमिपछि फेरी आम जनको कुरामा फर्कौँ । अहिले एनआरएनए अष्ट्रेलियामा मूल समस्या हो, सदस्यता बन्न पैसा अरूले तिरिदिने । अनि भोट पनि दाता वा दाताले भनेतिरै ठोकिदिने । यस्तो लेख्दा, एनआरएनएको महत्त्व बुझेर आफै पैसा तिरेर सदस्य बनेका ठुलो जमात र सदस्यता किन्न सुको पैसा खर्च नगर्ने उमेद्वारको आत्मसम्मानमा ठेस पुर्‍याउनु मेरो चेष्टा होइन । त्यस्ता आम जन र उमेद्वारलाई त मेरो उच्च सम्मान छ । म त केबल २५ डलरको लोभमा इमानको सौदा गर्ने केही पात्र सङ्ग प्रश्न गर्दै छु ।

चुनावताका एनआरएनएले सदस्यता खुल्ला गर्छ । स्वतःस्फूर्त सदस्य बन्ने आम मानिसको कमी देखिन्छ । चुनावमा उठेकाहरूले शुल्क तिरिदिन्छौ, केबल कागजपत्र दिनुस् भनेर फकाएर सदस्य बनाउने क्रम हाबी छ । अलि नमिठो सुनिएला तर, बुझेकै मान्छेहरू पनि २५ डलर शुल्कको लोभमा आफ्नो इमान र स्वविवेक अर्कालाई सुम्पिरहेका छन् ।

हामी त्यही मान्छे हौ, जो काठमाडौँका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र सांसद रबी लामिछानेमा सुधारका किरण देख्छौ । अनि पुराना नेताहरूलाई भ्रष्टाचार, अनियमितता र अव्यवस्थाका लागि सराप्छौ । हामी त्यही मान्छे हौ जो विदेशमा बसेर नेपाली जनताले मासु र रक्सीमा भोट बेचेकाले पुराना नेताहरू नै बारम्बार सत्ता र शक्तिमा पुगेर देशलाई खोक्रो बनायो भन्दै सामाजिक सञ्जालमा रोइला गर्छौ ।

रक्सी र मासुमा भोट बेचेको भन्दै सत्तोसराप गर्ने हामी कसरी २५ डलरमा इमान बेच्न राजी हुन्छौ ?

हुन त एनआरएन भनेको कहाँ सरकार हो र ? भन्ने पनि लाग्दो हो । तर, एनआरएनएले विदेशमा रहेका नेपालीहरूको हकहितमा सरकारले जत्तिकै भूमिका खेल्छ । खास गरी दोहोरो नागरिकता, सम्पत्ति अधिकार, सामूहिक लगानी, विदेशबाट भोट हाल्ने अधिकार तथा विदेशमा दुख परेका नेपालीलाई साथ सहयोग गर्न एनआरएनए नै अगाडी आउने गरेको छ ।

नेपालको संविधानमा उल्लेख भएर, नेपालको सरकारसँग सिधा सम्बन्ध राख्ने विदेशमा रहेका नेपालीको एउटा मात्र संस्था हो एनआरएनए । त्यसैले यसको नेतृत्वमा आउने व्यक्तिहरूको छवि, भिजन र योजनाले विदेशमा रहेका लाखौँ नेपालको हकहित संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

तर, हामीलाई त केवल गाली गर्न आउँछ । अरूको दोष खोतल्न आउँछ । आफ्नो जिम्मेवारी पुरा गर्ने पालो आए पन्छिने पुरानो बानी छ हाम्रो । एनआरएनए अष्ट्रेलियाको सदस्यता वितरणमा पनि यही रोग हाबी भएको छ । आम मान्छेले आफू खुसी शुल्क तिरेर सदस्यता बनेको भए, २५ डलरमा आफ्नो मत र इमानको सौदा नगरेको भए, आज एनआरएनए अष्ट्रेलियाले यो भन्दा धेरै गुणा सबल नेतृत्व पाउँथ्यो । संस्था बलियो हुन्थ्यो । यहाँ बस्ने लाखौँ नेपाली, विद्यार्थी साथीहरूले असल सारथि पाउँथे । तर, विडम्बना,  पैसामा मतदाता किन्ने  प्रवृत्ति रोक्न आट कसैलाई आएन ।

कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैँ, ढिलै भए पनि टोनु घोतानेले बैङ्क कार्डमा लगाम लगाएर सुधारको प्रयास गरेका छन् । यो प्रयास कुनै बहाना वा दबाबमा असफल नहोस् । अरुकै पैसामा सदस्य बनेर एक चरणको इमान बेचे पनि, भोट हाल्ने बेलामा चाहिँ दाताको नभई, आफ्नो विवेकको आज्ञाकारी बन्नुहोला है ।


ट्याग : #Australia, #Nepali in Australia, #NRN Election, #NRNA Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ