Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वकप छनोट क्रिकेट : अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालको पहिलो जित

विश्वकप छनोट क्रिकेट : अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालको पहिलो जित


काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत दोश्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टाउँदै ६ विकेटको जित हात पारेको हो ।

नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे । ओपनर कुशल भुर्तेलले ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्किए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । अमेरिकाका सयन जंहागीर १०० रनमा अविजित रहे ।

अमेरिकाको सुरुवात निकै खराब बन्यो। पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो । तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाल्दै पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे । तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराएका थिए । जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराएका थिए।

क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे । ५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरेका थिए । अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरेका थिए । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भएको थियो । अमेरिकाको ब्याटिङमा नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।

जिम्बाब्वे ६ विकेटले विजयी
समूह ‘ए’को दोस्रो खेलमा घरेलु टोली जिम्बाब्वेले लगातार दोस्रो जित निकाल्दै समूहमा शीर्ष तीनको सम्भावना बलियो बनाएको छ। मंगलबार भएको खेलमा जिम्बाब्वेले नेदरल्यान्डसमाथि ६ विकेटको जित निकाल्दै ४ अङ्कसहित शीर्ष स्थान सुरक्षित गरेको हो । हरारेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रनको उच्च स्कोर बनाएपनि जिम्बाब्वेले ४०.५ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ