Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा हपहप गर्मीको मार, केही दिन सचेतना अपनाउन अपिल !

नेपालमा हपहप गर्मीको मार, केही दिन सचेतना अपनाउन अपिल !


काठमाडौं । नेपालमा मनसुनी वर्षा सक्रिय हुन नसक्दा तराई मधेससहित देशभरको जनजीवन प्रभावित भएको छ । तराई मधेशमा त अझै केही दिन तातो हावा र लु चल्ने सम्भावना रहेको भन्दै मौसमविद्ले सचेतना अपनाउन अपिल गरेका छन् ।

तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल भैरहेको छ । सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तराई मधेश क्षेत्रका अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै २७ डिग्री सेल्सियस भन्दा धेरै मापन गरिएको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङ घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ।

अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढ्दा तराई मधेसका जिल्लामा हपहप गर्मी छ । अधिकांश विद्यालय गर्मीसँगै केही समयका लागि बन्द गराइएका छन् । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन चिकित्सकले सुझाब दिएका छन् । मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने जानकारि दिनुभएको छ । चिकित्सकहरुले गर्मीका कारण स्वास्थ्यमा जोखिम पर्ने भन्दै झोलिलो खानेकुरा खान, पानीको मात्रा पुर्याएर जोखिमबाट जोगिन, अत्यावश्यक बाहेक दिउँसोको समयमा हिडडुल नगर्न सचेत गराएका छन् ।

यता, मंगलबारदेखी नै पहाडी जिल्लामा हल्का वर्षा सुरु भएको छ । आज पनि बेलुकी पख हल्का पानी पर्ने पूर्वानुमान गरिएको छ । पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेपनि दिउँसोपख भने गर्मीका कारण जनजीवन प्रभावित हुँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ