Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने !

नेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने !


काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित बनाएको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा नै पुरा गर्यो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गर्दै टिमको जित सहज बनाए । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका थिए। गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक समेत बनाएका छन् । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरे । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे । अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए । युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।

यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट सुरु भएको खेलमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १ १० विकेट गुमाएर १ सय १७ रनमा सिमित भयो । युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा,सोमपाल कामीले समान १÷१ विकेट लिए । एसिया कपमा स्थान बनाएको नेपालले अब भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ