Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचितवन २ निर्वाचन अपडेट : भोटको सुनामीसहित रवि लामिछानेले बनाए कीर्तिमान !

चितवन २ निर्वाचन अपडेट : भोटको सुनामीसहित रवि लामिछानेले बनाए कीर्तिमान !


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भारी मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई रविले ४२ हजार ९६२ मतान्तरका साथ पराजित गर्नुभएको हो।

रास्वपाका सभापति लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा श्रेष्ठ ११ हजार २१४ भोटमा रोकिनुभएको छ । यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाउनुभएको छ । लामिछाने ६ महिनाभित्र दोस्रोपटक जनअनुमोदित बन्दैगर्दा विगतको मतान्तर समेत बढाउनुभएको छ । विगतको निर्वाचनमा नेपाली कांग्रेसकै उमेश श्रेष्ठको भन्दा ३४ हजार ३१२ मतान्तरले जित हासिल गर्नुभएको थियो ।

तीन वटा रेकर्ड बनाउँदै विजयी
लामिछानेले अहिले कायम गरेको मतान्तर सम्भवतः नेपालको चुनावी इतिहासमै सबैभन्दा ठूलो हो । ४२ हजार ९६२ मतान्तरको जितले एउटा रेकर्ड बन्यो । यसैगरि सबैभन्दा धेरै मत पाउने उम्मेदवारका रुपमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रविले उछिनेका छन् । मंसिर ४ मा नेकपा एमालेका अध्यक्ष ओलीले झापा ५ मा ५२ हजार ३९१ भोट ल्याउँदै सर्वाधिक मतको रेकर्ड बनाउनुभएकोमा अहिलेको उपचुनावमा लामिछानेले सर्वाधिक मतको रेकर्ड तोड्नुभएको छ । आम निर्वाचन २०७९ र यस उपनिर्वाचनमा खसेको मतमध्ये सबैभन्दा ठूलो अनुपातमा अर्थात ६९ प्रतिशतभन्दा बढी मत रविले पाउनुभएको छ । नेपालको चुनावी इतिहासमा सर्वाधिक मत प्रतिशत ८३ प्रतिशतको रेकर्ड भने डा. बाबुराम भट्टराईले बनाउनुभएको थियो ।

यता, बारा निर्वाचन क्षेत्र नम्बर २ मा अहिले पनि मतगणना जारी छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४ हजार ५४३ मतसहित अग्रता लिनुभएको छ । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार ७४० मतसहित पछ्याइरहनुभएको छ । नेकपा एमालेका पुरुषोतम पौडेलले ४ हजार ८०५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेर २ हजार ०५९ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ