Monday, 29 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘राधा’ देखाउन निर्देशक आफै किन आए अष्ट्रेलिया ?

‘राधा’ देखाउन निर्देशक आफै किन आए अष्ट्रेलिया ?


ब्रिजवेन/आइतबार साँझ ब्रिजवेनको न्यु फार्मस्थित सिनेमा हलको ढोकामै टिकट बेचिरहेका भेटिए निर्देशक सुर्वण थापा । उखरमाउलो गर्मीमा असिन पसिन हुदै टिकट बेचिरहेका थापा, आफुले लगानी तथा निर्देशन गरेको पछिल्लो चलचित्र राधा प्रदर्शन गर्न केही समय देखि अष्ट्रेलियाको विभिन्न शहर घुमिरहेका छन् । ‘निर्देशकज्यु चलचित्र देखाउन आफै किन अष्ट्रेलिया आउनु भयो त ?’  प्रश्न सोध्न नपाउदै केही निराश शैलीमा सुर्वणले भने- ‘खै हाम्रो चलचित्र देखाइदिने व्यक्ति र कम्पनी नै भेटिएन आफै नआएर के गर्नु ?’

केही नाम चलेका ब्राण्ड र सिरिजका चलचित्र ल्याउन तछाड मछाड हुदा आफ्नो चलचित्र देखाउन भने कोही तयार नभएको थापाको गुनासो थियो । धेरै जनासंग सिनेमा देखाउन पहल गर्दा पनि सफल नभएपछि, आफ्नै सम्पर्कमा रहेका साथीभाईको सहयोगमा सुर्वणले अहिले अष्ट्रेलियाका विभिन्न शहरहरुमा राधा देखाइरहेका छन् । ब्रिजवेनमा सिनेमा देखाउन सहयोग गर्ने साथी चाहि धिरेन्द्र थापा रहेको सुर्वणले बताए ।

यसअघि साथी भाइकै सहयोगमा सुर्वणले राधालाई सिड्नी, मेलवर्न, एडिलेड र न्यु क्यासलमा देखाइसकेका छन् । पर्थ र क्यानवेरामा पनि देखाउने तयारी गरिएको सर्वणले बताए । ‘निर्देशक आफैले चलचित्र देखाउदा फाइदा हुन्छ त ?’  एउटा शोबाट २ हजार डलर भन्दा बढी रकम उठिरहेकाले आम्दानी ठिकै भइरहेको सुवर्णको भनाई छ ।

नेपालमा खासै राम्रो नचलेकाले राधालाई विदेशमा प्रर्दशन गर्न समेत समस्या परेको समेत थापाको बुझाई छ । तर, चलचित्र हेरेका विदेशका नेपालीहरुले निकै राम्रो प्रतिकृया दिएकाले अन्य देशहरुमा समेत राधा देखाउने तयारी भइरहेको थापाले बताए ।

राधा आर्ट मुभी भएको थापाको भनाई छ । एउटा महिलाले आफुमाथी आइपर्ने समस्यासंग जुधेर जिवनमा कसरी संघर्ष गर्छ भन्ने कथा वरिपरी राधा अडिएको छ । ब्रिजेवनको शोमा १ सय भन्दा बढी दर्शकबिच राधा प्रदर्शन भएको थियो । सिनेमा हेरपछि धेरैले कलाकार सृष्टी श्रेष्ठको अभिनयको खुलेर तारिफ गरेका छन् । चलचित्रको कथाले दर्शकहरुलाई अन्तिमसम्म बाधेर राख्दछ ।

यसअघि हिजोआजका कुरा सिनेमा पनि निमार्ण टिम आफैले अष्ट्रेलियाका विभिन्न शहरमा प्रर्दशन गरेको थियो । इभेन्ट कम्पनीहरुले कम चर्चा पाएका चलचित्रहरु देखाउन मन नगर्दा निमार्ण टिम आफैले अष्ट्रेलियामा बजार विस्तार गर्न खोजिरहेको देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ