Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वस्विकार्य प्रचण्ड : २ सय ६८ सांसदले दिए विश्वासको मत

सर्वस्विकार्य प्रचण्ड : २ सय ६८ सांसदले दिए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा संसदबाट २६८ सांसदको विश्वासको मत पाउनुभएको छ । मंगलबारको प्रतिनिधि सभामा उपस्थित २७० सांसदमध्येबाट दुई तिहाई मतसहित प्रचण्डले सर्वस्विकार्य प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याउन सफल हुनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका ३२, नेकपा एमालेका ७९, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसदले विश्वासको मत दिएका हुन । यस्तै, प्रचण्डको पक्षमा नेपाली कांग्रेसको ८८ सांसदले समेत मत दिएका छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले मतदान गर्न पाएनन । राष्ट्रिय जनमोर्चा र नेमकिपाका दुई सांसदले मात्रै प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संकल्पबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले निरपेक्ष गरिबीमा रहेका झण्डै पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन, कानुनका छिद्रमा खेल्ने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने, अनियमितता जस्ता कदम सरकारलाई स्वीकार्य नहुने प्रतिबद्धता प्रचण्डले गर्नुभयो । सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइनेमा समेत प्रधानमन्त्री प्रचण्डले जोड दिनुभएको छ ।

कांग्रेस सभापति देउवाले संसदमा के भने ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नभई रचनात्मक प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले राष्ट्रिय महत्वका विषयमा राजनीतिक दलबीच संवाद, सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको दाबीसहित कांग्रेसले विरोधका लागि विरोध नभई गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताउनुभयो । संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने देउवाको जिकिर थियो ।

एमाले अध्यक्ष ओलीले किन गरे देउवामाथी घोचपेच ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गर्नुभएको छ । कांग्रेसको समर्थनभित्र कुनै जालझेल भएको भए सफल नहुने जिकिर गर्नुभएका ओलीले विना स्वार्थ समर्थन गरिएको भए स्वागतयोग्य भएको बताउनुभयो । यो मात्रै नभएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला ओली र देउवाबीच सवाल जवाफ नै चलेको छ । संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले २०१७ सालमा, २०५१ मा २०५८ साल असारमा गरेर पटकपटक संसद् विघटन कस्ले गरेको भन्दै प्रश्नमाथी प्रतिप्रश्न तेर्साउनुभयो । सबै मिलेर देश र जनतालाई निकास र विकास दिन अग्रसर हुनुपर्नेमा ओलीको जोड थियो ।

बैठकमा माओवादी केन्द्रको प्रतिनिधित्व गरेर बोल्दै नेतृ रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षबाट सन्तोष परियार, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा नेता अशोककुमार राईले विश्वासको मतमा समर्थन जनाएका थिए । सबै राजनीतिक दल मिलेर देश र जनताका चाहाना आकांक्षा पुरा गर्नुपर्नेमा यी दल र नेताहरुले जोड दिएका छन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सांसदहरुले धारणा राख्दै प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता पुरा हुनुपर्ने बताएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ