Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : प्रधानमन्त्रीको विश्वासको मतदेखी मलेसियामा नेपालीको उद्धारसम्म

नेपाल अपडेट : प्रधानमन्त्रीको विश्वासको मतदेखी मलेसियामा नेपालीको उद्धारसम्म


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत, धमाधम बन्दैगरेका प्रदेश सरकार देखी मलेसियाका नेपाली श्रमिक उद्धारसम्मका प्रमुख ५ खबरहरु यस्ता छन् ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज विश्वासको मत लिन लागिएको हो । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई रहेको छ ।

नेपालका तीन प्रदेशले पाए नेतृत्व
बागमती प्रदेशमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल ७० संसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन रहेको छ । यस्तै, गण्डकीमा एमाले संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । अधिकारीलाई सत्तारुढ दलका तर्फबाट एमालेका २२ माओवादी केन्द्रका ८ ्, राप्रपाका २ र एकिकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजिव गुरुङसहित ३३ सांसदले समर्थन गरेका छन् । यता, एमालेका हिक्मत कार्की प्रदेश एकको मुख्यमन्त्री बनेका छन् । प्रदेश एकको मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदसहित ६० सांसदको समर्थन रहेको छ ।

अझै चिसिदै नेपालको मौसम, जनजीवन प्रभावित
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेसँगै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै, बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेका कारण चिसोसँगै जनजीवन प्रभावित भएको छ । दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै, बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती समेत मौसम सामान्यतय बदली रही पहाडी र हिमाली केही क्षेत्रमा हिमपात हुने आँकलन गरिएको छ ।

नेपाली सेनाको ‘केबलकार उद्धार अभ्यास’
केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी पूर्व तयारी स्वरूप नेपाली सेनाले ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरेर सेनाले थानकोटमा अभ्यास पुरा गरेको हो । सेनाले विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई हाई लाइन रेस्क्यू तरिकाद्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यास गरेको थियो । यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

मलेसियामा अलपत्र नेपालीको उद्धार, कुटपिट गर्ने पक्राउ
मलेसियामा नेपाली श्रमिकलाई कुटपिट गर्ने होङ्गे इन्टरप्राइजेजसँग सम्बन्धित व्यक्ति पक्राउ परेका छन् । श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरिएसँगै पीडकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारि दिएको हो । गत जनवरी ४ मा दूतावासमा भएको छलफल पश्चात् स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल नेपाल फर्काउन र काम जारी राख्न चाहनेलाई काममा फर्काउने सहमति भए अनुसार ९ जना नेपाली काममा फर्केको, ७ जना बुधबार नेपाल फर्किने र बाँकीले स्वदेश फर्किने वा काममा पुनः जाने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताइएको छ । मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने गरी पिआरएस फरेस्ट म्यानेजमेण्ट कम्पनीमा काम गर्न गएका १३ जना नेपाली मध्ये ६ जना आज नेपाल फर्किँदै र बाँकी व्यक्ति जनवरी १३ मा नेपाल फर्किने दूतावासले जनाएको छ । उनीहरु नेपाल नफर्किँदासम्म खानबस्ने व्यवस्था गरिएको नेपाली दूतावासले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ