Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा मोटरसाइकल दुर्घटनामा एक नेपाली विद्यार्थीको निधन

सिड्नीमा मोटरसाइकल दुर्घटनामा एक नेपाली विद्यार्थीको निधन


सिड्नी/पश्चिम सिड्नीमा हिजो साझ मोटरसाइकल दुर्घटना हुदा, एक नेपाली विद्यार्थीको घटनास्थलमै निधन भएको छ ।  निधन हुने भक्तपुर ठिमीका २१ वर्षिय श्रेष्ठ थरका नेपाली विद्यार्थी रहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले पुष्टी गर्नुभएको छ ।  त्यस्तै न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा पश्चिम सिड्नीको हबरफिल्डमा दुर्घटना भएको भन्दै आपत्तकालिन सेवामा सम्पर्क गरिएको उल्लेख छ । कामबाट फर्कने बेलामा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक २१ वर्षिय युवकको घटना स्थलमै निधन भएको विज्ञप्तीमा उल्लेख छ । मोटरसाइकलले सडकमा राखिएको ट्राफिक चिन्हलाई ठक्कर दिएर दुर्घटना भएको समेत प्रहरीको भनाई छ । ३ वर्ष अघि अष्ट्रेलिया आएका यी विद्यार्थी हालैमात्र नेपाल गएर मोटरसाइकलको लाइसेन्स लिएर आएको उनीसंगै बस्दै आएका एक साथीले नेपालट्युबलाई जानकारी दिनुभयो । उनले साथीको मोटरसाइकल मागेर चलाइरहेको समेत बुझिएको छ । मोटरसाइकल जोखिम हुने भन्दै पटक पटक नचलाउन समेत भनेको ती साथीले बताउनुभयो । ‘मैले भनेको मानेको भए, आज यस्तो दुखद घटना हुदैन थियो’ ती साथीले भन्नुभयो । मृतक युवक निकै मिजासिलो र मनमा पाप नभएको मान्छे रहेको भन्दै यत्ति सानै उमेर गुमाउनुपर्दा निकै दुख लागेको ती साथीले बताउनुभयो ।

मृतकको परिवारलाई हिजो बेलुका नै घटना बारे खबर भइसकेको छ । एनआरएनए न्युसाउथ वेल्सका टिमले नेपालस्थित परिवारसंग छलफल गरेर शव पठाउने तयारी समेत थालिएको छ । मृतकको सुपर र बिमाबाट समेत क्षतिपुर्ति दाबी गरेर परिवारलाई उपलब्ध गराउन समेत सहयोग गर्ने संयोजक देव गुरुङले जानकारी दिनुभयो ।

एक साता अघि पनि सिड्नीमै फुड डेलिभरी गर्ने एक नेपाली युवक मोटरसाइकल दुर्घटनामा परेर हात भाच्चिएको छ । धेरै लेन भएको सडकमा मोटरसाइकल चलाउन जोखिम हुने गर्छ । बजेट डिरेक्टको एक तथ्याकं अनुसार सन् २०११ देखि २०२० सालमा अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परेर २ हजार ८१ जनाले ज्यान गुमाएका छन् ।


ट्याग : #Australia, #bike accident, #road accident
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ