Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजेलबाट छुटेपनि ‘सिरियल किलर’ चार्ल्स शोभराज केही दिन नेपालमै रहने !

जेलबाट छुटेपनि ‘सिरियल किलर’ चार्ल्स शोभराज केही दिन नेपालमै रहने !


काठमाडौं । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सका ’सिरियल किलर’ चार्ल्स शोभराज आज काराकारबाट रिहा हुँदैछन् । बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न आदेश दिएसँगै आज रिहा गर्न लागिएको हो ।

कसरी अघि बढ्छ अबको प्रक्रिया ? कहिले फ्रान्स पुग्लान शोभराज ?
अदालतले १५ दिनभित्र आफ्नो देश फर्काउनसमेत आदेश दिइ अनुसार नै कारागार व्यवस्थापन विभागले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको छ । विदेशी नागरिक भएकाले उनलाई कारागारबाट अध्यागमन विभाग बुझाइने छ । विभागको निर्णय अनुसार उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढ्ने छ । अध्यागमन विभागले कारागारबाट उपस्थित गराएपछि भिसालाई अध्यावधिक गराइने बताएको छ । यसका लागि अदालतबाट पक्राउ पर्दादेखि मुद्दा चलेर जेल बसेको प्रमाण मागिन्छ, यसपछि डिपोर्ट गर्ने प्रक्रिया अघि बढ्छ । शोभराज स्वय भने केही समय नेपालमै बस्ने योजनामा छन् । हाजिरी जमानीमा बाहिर बस्न अपिल गर्दै आज निवेदन दिइने बताइएको छ । फ्रान्सबाट आफन्त, केही विदेशी पत्रकार र लेखकलाई काठमाडौं बोलाएका सोभराज केही दिन होटल हायातमा बस्नेछन् । अदालतले नै १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएकाले लामो समय नेपाल बस्न भने पाउँने छैनन ।

पछिल्लो पटक परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पुरा भएको र चाल चलन राम्रो देखिएको आधारमा रिहा गर्न आदेश दिएको थियो । यसअघि समेत सर्वोच्चले परामादेश मार्फत चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन दुई पटक सिफारिसमा गरिएको थियो । पुनरावेदन अदालत, पाटनले २७ वैशाख २०७३ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएकोमा अहिलेसम्म गोलघरमै राखिएको थियो । केन्द्रिय कारागारले अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउँदैआएको थियो ।

यस्तो छ अदालतको पछिल्लो आदेश
अदालती आदेश कार्यान्वयनमा वेस्वाता गरेको र, केन्द्रीय कारागारले ७ असार २०७९ मा शोभराजको स्वास्थ्य अवस्था हाल सामान्य रहेपनि पाँच किसिमको औषधि सेवन गरिरहेको भन्दै पठाएको पत्रलाई समेत अदालती फैशलामा आधार बनाइएको छ । बुधबार शोभराजलाई छाड्ने आदेश दिने क्रममा इजलासले अदालतको एकपछि अर्को आदेश पालना नहुनु, स्वास्थ्य अवस्था कमजोर बन्दै जानु जस्ता आधारलाई टेकेको छ । ‘यसबाट बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड मण्डेला नियम, २०१५ समेत विपरित व्यवहार भएको देखिन्छ’, अदालतको संक्षिप्त आदेशमा भनिएको छ, ‘उच्च र सर्वोच्च अदालतबाट समेत पटकपटक परामादेश जारी भइ तोकिएको समयभित्र कारागार नियमावली, २०२० को नियम २९ (२ क) बमोजिम सुविधा प्रदान गर्नेतर्फ कुनै निर्णय भएन ।’ १९ वर्ष कैद सजाय भोगिसकेका ७८ वर्षका शोभराजले कानून अनुसार पाउनसक्ने सुविधाबारे गृह मन्त्रालयले समयमा निर्णय नगरेपछि बाँच्न पाउने हक र एकान्त काराबासविरुद्धको हकमा समेत असर परेको अदालती फैशलाको जिकिर रहेको छ । ‘उनलाई निरन्तर कैदमा राखी राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन, अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनुहुन’ सर्वोच्चको आदेशमा भनिएको छ ।

शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपछि केन्द्रीय कारागारमा राखिएको थियो । विकिनी किलरका रुपमा चिनिने कुख्यात चार्ल्स शोभराज यस्ता अपराधी हुन्, जो जेलभित्र रहँदा होस् या बाहिर सधैँ अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बन्थे । ९ महिनाअघि मात्रै पनि केन्द्रिय कारागारबाटै बेलायती पत्रिका मिरर र डेलिमेललाई तीनदेखि चार हप्तामा छुट्न लागेको भन्दै सनसनीपूर्ण अन्तरर्वार्ता दिएपछि उनी विवादमा मात्रै परेनन छानविन समिति नै गठन भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ