Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsघाटामा चल्दै नेपाल सरकार, आम्दानी भन्दा खर्च ७८ अर्ब बढी !

घाटामा चल्दै नेपाल सरकार, आम्दानी भन्दा खर्च ७८ अर्ब बढी !


काठमाडौंं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को प्रारम्भबाटै आर्थिक दबाबमा परेको सरकारी हिसाब किताब अहिले पनि चापमा छ । ३ खर्ब ५७ हाराहारी आम्दानी गरेर ४ खर्ब ३५ अर्ब खर्च गरेका कारण घाटाको यो श्रृङ्खला चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी रहेको हो ।

मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ । यो आर्थिक सुचकले सरकारको हिसाब–किताब ७८ अर्ब रुपैयाँ घाटामा चलिरहेको देखिन्छ । यसले आगामी दिनमा सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । अन्य खर्च लक्ष्यको २४.२६ प्रतिशत भएको देखिन्छ । यो हिसाबमा सरकारले लिने आन्तरिक तथा बाह्य ऋण गणना गरिदैन । राज्यको आफ्नै आम्दानी र खर्च हिसाब गर्दा राज्यकोष ऋणात्मक देखिएको हो ।

चालु वर्ष पहिलो ५ महिनाको तथ्यांक अनुसार राजस्व संकलनबाट चालु खर्च नै धान्न नसक्ने अवस्था देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कर र गैर कर राजस्वबाट मंसिर मसान्तसम्म ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । समीक्षा अवधिमा चालु खर्च मात्रै ३ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ भएको छ । पहिलो ५ महिनामा चालु खर्च ह्वात्तै बढेर को ३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा चालु खर्च ३ खर्ब १७ अर्ब रुपैयाँ थियो । चालु प्रकृतिको खर्च बढ्दा पुँजीगत खर्चको लय भने पुरानै ढर्रामा अर्थात पाँच महिना पुरा हुँदासम्म ३३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यो कुल लक्ष्यको ८.९४ प्रतिशत हो ।

सरकारले चालु आवमा कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर, पाचौं महिनासम्म ३ खर्ब २६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो लक्ष्यको २३.३ प्रतिशत हो । सरकारले पाँच महिना भित्र ५ खर्ब भन्दा माथि राजस्व उठ्ने लक्ष्य लिएको भएपनि लक्ष्य भन्दा धेरै कम मात्र राजस्व उठेको छ । यसले सरकारी कोषलाई दबाबमा पारेको छ ।


ट्याग : ##nepal#latest news, #nepal Economic, #nepal embassy, #नेपाल राष्ट्र बैंक, #नेपाल सरकार
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ