Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्रोएसियामाथि ३-० को सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको उपाधि होडमा !

क्रोएसियामाथि ३-० को सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको उपाधि होडमा !


काठमाडौं, एजेन्सी । साविक उपविजेता क्रोएसियामाथि ३-० को सानदार जित हात पार्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनाले सुरुआती अग्रता लियो । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडे । मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै २५ खेल खेल्ने खेलाडी जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको कीर्तिमानमा समेत बराबरी गरे ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे । खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको छ । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ । साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुँँदैछ ।


ट्याग : ##fifaworldcup#Footbal, #messi
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ