Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaठग व्यवसायी विरुद्ध अष्ट्रेलियामा आक्रामक कारबाही, एक वर्षमा ४ लाखले पाए न्याय !

ठग व्यवसायी विरुद्ध अष्ट्रेलियामा आक्रामक कारबाही, एक वर्षमा ४ लाखले पाए न्याय !


ब्रिजबेन । कानुन मिच्ने र कम पारिश्रमिक दिने व्यवसायी विरुद्धको कारबाही अनि क्षतिपूर्ति भराउने काममा अष्ट्रेलिया सरकारले ठूलो सफलता हात पारेको छ । फेयरवर्क अम्बुडस्म्यानले आर्थिक वर्ष २०२१—०२२ मा पारिश्रमिक कम पाउने ३ लाख ८४ हजार ८ सय ५ कामदारको पक्षमा ५ सय ४२ मिलियन भन्दा बढी क्षतीपूर्ती भराएको हो ।

कर्मचारीहरूका नाममा दिलाईएको क्षतीपूर्ती, अनुगमन र कारबाहीमा उच्च रेकर्ड कायम गरेको बताइएको छ । कार्यस्थल नियामकको वार्षिक प्रतिवेदन अनुसार सन् २०२०–२१ मा अघिल्लो रेकर्ड रिकभरीहरू भन्दा तीन गुणा बढी र २०१९–२० मा हासिल गरेको भन्दा चार गुणा बढी सफलता हात पारेको उल्लेख गरिएको छ । वर्षको आधा भन्दा बढी कारबाही ठूला कर्पोरेट रोजगारदाताहरूमाथी लक्षित भएको पाइएको छ । यस्ता रोजगारदाताबाट मात्रै २ लाख ६७ हजार भन्दा बढी कर्मचारीहरूलाई लगभग २ सय ७९ मिलियन फिर्ता गराएको यो अघिल्लो आर्थिक वर्षको भन्दा ६ गुणा बढी रकम भएको बताइएको छ ।

फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले कामदारमाथी अन्याय गर्ने अष्ट्रेलियाका ठूला उद्योग व्यवसायलाई सुधार्न भूमिका खेलेको दाबी गर्दै कानुनी प्राणाली रोजगारदाताले पुरा गर्नुपर्ने दायित्वमा गम्भिर बन्न आग्रह गर्नुभएको छ । कामदारलाई दिनुपर्ने तलब, सेवा सुविधामा मनोमानी गर्ने जुनसुकै व्यवसाय र जो कोही भएपनि कारबाहीको दायरामा आउने दाबी गर्दै पार्करले आफ्नो कानुनी अधिकारका लागि खुलेर उजूरी गर्न आग्रह समेत गर्नुभएको छ । २०२१–२२ मा फेयरवर्क अम्बुडस्म्यान (एफडब्लुओ) मार्फत अष्ट्रेलियाका दुई ठूला रोजगारदाता कमनवेल्थ बैंक अफ अस्ट्रेलिया र कोल्स सुपरमार्केटको मुद्धा संघीय अदालतमा पुगेको छ । सन् २०२१–२२ मा मात्रै १३७ नयाँ मुद्दा कारबाही प्रक्रियामा अघि बढेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी हो ।

अदालतले आदेश गरेको मुद्धामार्फत करिब ४२.७ मिलियन क्षतिपूर्ती भराएर करिब ४१.८ मिलियन शोषित आप्रवासी कामदारहरूलाई दिलाइएको बताइएको छ । कार्यस्थल नियामकले ४ सय ९२ उजुरीमार्फत ४ लाख ४६ हजार बढी जरिवाना गराएका छन भने आर्थिक वर्षमा श्रमिक र रोजगारदाताबीच १८ हजार ६२२ कार्यस्थल विवाद समाधान गराउन भुमिका खेलेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ