Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल र नेपालीको वास्तविकता बुझ्न मन छ, यी हुन घुम्नैपर्ने चार प्रमुख पर्यटकिय गन्तब्य !

नेपाल र नेपालीको वास्तविकता बुझ्न मन छ, यी हुन घुम्नैपर्ने चार प्रमुख पर्यटकिय गन्तब्य !


काठमाडौं । दसैँदेखी तिहारसम्मको समयलाई घुमघामको रमाइलोको समयका रुपमा पनि लिनेगरिन्छ । केही समय फूर्सद र साथीभाई भेटिएका बेला दसैँ र तिहारमा घुमघाम गर्न सजिलो पनि हुनेगरेकाले धेरैले यो मौकालाई सदुपयोग गर्दछन् ।

साथीभाइ भेटिदा घुमघाम गर्नु जीवनको एक क्षण सुरक्षित गर्नु भएको समेत कतिपय बताउँछन् । किनकी साथीभाइ, घुमघाम, रमाइला पलको आनन्द लिन सँधै सँधै समय मिल्दैन । आन्तरिक पर्यटनका रुपमा दसैँ तिहारको घुमघामलाई धेरैले भरपुर उपयोग पनि गर्नेगरेका छन् ।

दशै तिहारको समयमा घुम्नका लागि अलिकति पैसा र धेरैजसो साथीभाइ सजिलै भेटिन्छन् पनि । नेपालीका लागि पैँसा र साथीभाइ भेटिनु पछिल्लो समय मूश्किल बन्दै गएको छ । आन्तरिक पर्यटन फस्टाउँदै गएका बेला नेपालीले एकपटक घुम्नैपर्ने चार गन्तब्यको यहाँ संक्षिप्त चर्चा गरिएको छ।

१, पाथीभरा
ताप्लेजुङको उच्च भूगोलमा रहेको पाथीभरा नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो । खासगरि सगरमाथालाई धेरै विदेशीले रोजाईको ठाउँ बनाए पनि नेपालको भूगोल, भाषा, परिवेश र पर्यटनको महत्व बुझ्न पाथीभरा पुग्नुपर्छ भन्ने मान्यता विकास भैरहेको छ । प्रदेश नम्बर एकस्थित पूर्वी नेपालको सबैभन्दा उचाइमा रहेको पाथीभरा धार्मिक हिसाबले पनि पर्यटकको घूइँचो लाग्ने गन्तब्य हो । एकपटक पाथीभरा पुग्नुपर्छ भन्ने चेत आम नेपालीमा खुल्दै गएको छ ।

पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण धार्मिक क्षेत्रमा पर्ने पाथीभरा जाँदा भौगोलिक आनन्द, हिउँ र हिमालको दृश्य देख्न सकिन्छ । यसका साथै झापा, इलाम, पाँचथरदेखि ताप्लेजुङसम्मको यात्रा पनि तय गर्न सकिन्छ । इलामको चियाबारी हेर्नेदेखि पूर्वी नेपालको रहनसहन र जनजीवन बुझ्न पनि पाथीभरा निकै महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । पछिल्लो समय बाइक तथा गाडीमा पाथीभरा मन्दिरको दर्शन गर्न पुग्नेको संख्या बढिरहेको छ ।

२, मुस्ताङ
नेपालको घुम्नैपर्ने अर्को महत्वपुर्ण ठाउँ हो, मुस्ताङ । पोखरा विश्वकै सस्तो गन्तव्यका रुपमा परिचित हुँदा मुस्ताङ नेपालीका लागि लोकप्रिय ठाउँ बनेको हो । जहाँ गएपछि धेरै कुराको आनन्द लिन सकिन्छ । नेपाल जस्तो भौगोलिक बनावटमा मुस्ताङ एउटा विशेष यात्रा गर्ने गन्तब्य बनेको छ । काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जदेखि पूर्व नेपालका विभिन्न ठाउँबाट मुस्ताङ पुग्नेको संख्या पछिल्लो समय बढ्दो छ ।

हिमाली जनजीवन र त्यहाँको कठिनाई नियाल्ने एक प्रमुख गन्तव्य पनि हो मुस्ताङ । सम्भवतः नेपालमा मुस्ताङ जस्तो भौगोलिक ठाउँ, क्षेत्र, माटो, पहाड र अवस्थितीको विशेषता अरु ठाउँमा देखिदैन । मुस्ताङ पुगेपछि नेपालको मध्य पहाडको जनजीवनबारे राम्रोसँग अध्ययन गर्ने मौका मिल्छ ।

३, शे–फोक्सुन्डो ताल
नेपालमा घुम्नैपर्ने महत्वपूर्ण पर्यटकीय गन्तव्य मध्ये अर्को महत्वपुर्ण स्थान हो शे–फोक्सुन्डो । डोल्पामा पर्ने शे–फोक्सुन्डो पहाडहरुको बीचमा रहेको एक सुन्दर तलाउ क्षेत्र हो । मुगुको सुलिचौरबाट हिँडेर एक दिनमा पुग्न सकिने शे–फोक्सुन्डो नेपालको भौगोलिक अवस्थामा फरक विशेषता बोकेको तालका रुपमा समेत परिचित छ ।

कर्णालीको जनजीवन बुझ्न र कठिनाई देख्न एकपटक शे–फोक्सुन्डो पुग्नुपर्छ भन्ने आम मान्यता विकास भैरहेको छ । फोक्सुन्डोको मनोरम दृश्यसँगै कर्णालीका हिमाली जिल्लाको भाषा, भेषभुषा, रहनसहन, चालचलन आदीको राम्रो अध्ययन र अनुभव गर्न पनि फोक्सुन्डो एक विशेष गन्तव्य हो । फोक्सुन्डो पुग्दा नेपालको जनजीवनमा एक कठिन र विशेष अनुभव प्राप्त गर्न सकिन्छ ।

४, बडिमालिका
पछिल्लो समय सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनेको स्थान हो, बडिमालिका । युवा पर्यटन अभियान्ता कञ्चन राई घुमन्तेले एक्सप्लोर गरेको बडिमालिका सुदूरपश्चिमको सुन्दरता झल्काउने विशेष ठाउँ बनेको छ । जनैपूर्णिमामा विशेष मेला लाग्ने बडिमालिकाको चर्चाले पछिल्लो समय खप्तड ओझेलमा परेको छ ।

हरियाली पाटन, प्राकृतिक सुन्दरता र धार्मिक विश्वासले बडिमालिका चर्चित छ। बडिमालिका घुम्न जाँदा सुदूरपश्चिमको पूरा जनजीवन अध्ययन गर्न पाइन्छ । खासगरि अपी र सैपाल हिमालको दृश्य पनि बडिमालिकाको गन्तब्यबाट देख्न सकिन्छ । पश्चिम नेपाललाई राम्रोसँग बुझ्न, भौगोलिक कठिनाईको अध्ययन गर्न र प्रशस्त पर्यटकीय सम्भावनाबारे घोत्लिन पनि एकपटक बडिमालिका पुग्नुपर्छ ।

फुर्सदमा घुम्नैपर्ने यी प्रमुख गन्तब्यको चर्चा मात्रै यहाँ गरिएको हो । नेपालमा यस्ता गन्तब्यहरु निक्कै धेरै छन् । सगरमाथा जस्ता हिमाल,उच्च पहाडी श्रृङ्खला, पोखरा जस्ता ताल, धार्मिक गन्तब्य भएका क्षेत्र, शौराह जस्ता प्रकृतिक मनोरम र बन्यजन्तु, सुर्योदयको मजा लिने क्षेत्र, लुम्बीनी, पशुपति स्वयम्भु, बौद्ध जस्ता धेरै धार्मिक क्षेत्र आन्तरिक र बाह्य पर्यटकका रोजाई बन्ने गरेका छन् । अन्य भूगोलमा फुर्सदमा पुगेपनि पाथिभरा, मुस्ताङ, फोक्सुन्डोपछि बडिमालिका पुगेपछि नेपालको भूगोल र जनजीवन राम्रोसँग अध्ययन गर्ने अवसर मिल्नेछ ।
(समाचार श्रोत : khabarhub.com, फोटो स्रोत : हिमालय भट्ट)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ