Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवेस्टर्न अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल हुँदै, यस्तो भन्छन राज्य संयोजक बस्नेत !

वेस्टर्न अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल हुँदै, यस्तो भन्छन राज्य संयोजक बस्नेत !


ब्रिजबेन, काठमाडौं । वेस्टर्न अष्ट्रेलियाको पर्थमा नोभेम्बर २६ मा आयोजना हुने नेपाल फेस्टिभलको तयारी भब्य बनाइएको छ । कोरोना महामारिका कारण सन् २०२० को नेपाल फेस्टिभल प्रभावित भएपनि पर्थको फरेस्ट चेजमा आयोजना हुने यो वर्षको फेस्टिभल भब्य बनाउन लागिएको हो ।

नेपाल फेस्टिभल पर्थको मुख्य प्रयोजन एभरेष्ट ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिसले गरेको छ भने फेस्टिभल सञ्चालनको मुख्य सहयोगीका रुपमा इन्टीच्युट अफ हेल्थ एण्ड नर्सिङ अष्ट्रेलिया रहेको छ । गोल्ड स्पोन्सर्सका रुपमा किङस्टन इन्टरनेश्नल कलेज, एभरेस्ट फाइनान्स, एनआरटी अष्ट्रेलिया, अल्टस्सच्युड केयर, इनोभेटिभ एशोसिएशन, एक्सपर्ट एजुकेशन भिसा सर्भिस रहेका छन् । प्याटिनम स्पोन्सर्सका रुपमा ग्रेस इन्टरनेश्नल, ड्रिमल्याण्ड माईग्रेसन सर्भिस, स्ट्ण्ड्ली कलेज, बलप्रितसिंह लोनमार्केट र हिमालयन नेपलिज रेस्टुरेन्टले साथ दिएका छन् ।

विहान ११ बजे कलस यात्राबाट सुरु हुने पर्थ नेपाल फेस्टिभलमा, ११ बजेदेखी नै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । साढे १ बजेदेखी साढे ३ बजेसम्म औपचारिक कार्यक्रम आयोजना भएपछि समेत सांस्कृतिक प्रस्तुती निरन्तर रहनेछन् । ५ बजेपछि रिदम ब्यण्डका प्रस्तुती सुरु भएर साँझ ८ बजेसम्म जारी रहने बताइएको छ । विभिन्न झाकीको प्रदर्शनी, स्थानीय कलाकारसँगै नेपाली कलाकार दिपक बज्राचार्य र रिदम ब्याण्डको प्रस्तुतीले पर्थको फेष्टिभललाई भब्य बनाउने छ ।

नेपाल चिनाउने फेस्टिभलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, वेस्टर्न अष्ट्रेलियाकी बहुसांस्कृतिक मन्त्री टोनी बुटी, वातावरण तथा जलवायु मामिला मन्त्री रिस बीट्सीसँथै पर्थका मेयर लगायतका स्थानीय नेताहरुको सहभागिता हुनेछ । वेस्टर्न अष्ट्रेलियाका प्रिमियरलाई समेत निम्ता पठाइएको छ । नेपाली फेस्टिभलमा भारतीय, बंगलादेशी भुटनिज लगायतका देशका प्रतिनिधिहरुको समेत सहभागिता हुने बताइएको छ । तपाई पनि वेस्टर्न अष्ट्रेलिया र आसपासका राज्यमा हुनुहुन्छ भने नोभेम्बर २६ मा हुने नेपाल चिनाउने अभियानमा सहभागि बन्नुहोस् ।

नेपाल फेस्टिभल पर्थको तयारी, के कस्ता कार्यक्रमहरु रहनेछन्, कति सहभागिताको अपेक्षा गरिएको छ ? एनआरएनए अष्ट्रेलियाको हरेक दुई वर्षमा आयोजना हुने नेपाल फेस्टिभलको उद्देश्य के हो ? भन्ने प्रश्नको सेरोफेरोमा रहेर एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहनुभएका वेस्टर्न अष्ट्रेलिया एनआरएनए राज्य समिति संयोजक दिपक बस्नेतसँग नेपालट्युब अष्ट्रेलियाका नेपाल सम्पादक पुण्यप्रसाद धमलाले गरेको संवादको संपादित अंश अबका क्रममा :

दिपक बस्नेत, वेस्टर्न अष्ट्रेलिया एनआरएनए राज्य समिति संयोजक

एनआरएनए अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिभलको उद्देश्य के हो ?
– नेपाल फेस्टिबल अष्ट्रेलियाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली समूदायलाई एकजुट गराउन, नेपाली कला, संस्कृती, रहनसहन, भेषभुषा र खानपानको प्रदर्शनी एवंम प्रबद्धर्न गर्न गराउन आयोजना गरिएको हो । साथै अष्ट्रेलियाली नागरिकलाई नेपालप्रतिको कैतुहलता बढाएर भ्रमणका लागि उत्प्रेरित गराउनुपनि यस्ता सांस्कृतिक कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

पर्थको नेपाल फेस्टिबलको तयारी कुन अवस्थामा छ, के कस्ता कार्यक्रमहरु हुनेछन् ?
–पर्थको नेपाल फेस्टिभलको पूर्वतयारी अन्तिम चरणमा छ, भब्य तयारी भैरहेको छ । कलस यात्रा मार्फत सुरु हुने फेस्टिभलमा झाकी, विभिन्न सांस्कृतिक कार्यक्रम, गायन नृत्य प्रस्तुत हुनेछन् । साथै पर्थको फेस्टिभलमा नेपाली बाहेक अन्य बहुसांस्कृतिक कार्यक्रमलाई समेत समावेश गराएर पुथक बनाउन खोजिएको छ ।

कतिको सहभागिताको अपेक्षा गर्नुभएको छ ?
– फेस्टिभलमा अष्ट्रेलियास्थित वेस्टर्न अष्ट्रेलियाका प्रिमियर लगायतका मन्त्री, स्थानीय मेयर लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता हुने विश्वास लिएका छौँ । नेपाल समूदायका साथै विभिन्न संघ संगठन र सिंगो एनआरएन फेस्टिभल भब्य बनाउन क्रियाशिल भएकाले १० हजार हाराहारिको सहभागिता हुनेमा आशावादी छौँ ।

अन्त्यमा फेस्टिभल भब्य बनाउन साथ सहयोग गर्नेहरुप्रति भन्नैपर्ने केही छ ?
– हामीलाई आर्थिक, सामाजिक र भावनात्मक रुपमा सहयोग गर्ने नेपाली संघ संस्था, व्यवसायीक सहयोगी साथै अष्ट्रेलिया सरकारको तर्फबाट सहयोग गर्नुहुने राज्य सरकार, पर्थका मेयर, स्थानीय सरकार सबै सहयोगीप्रति वेस्टर्न अष्ट्रेलिया राज्य समिति र सिंगो एनआरएन अष्ट्रेलिया आभार प्रकट गर्न चाहान्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ