Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsज्यानकै जोखिम मोलेर बेनी–जोमसोम यात्रा : वर्षादमा उच्च जोखिम, स्तरोन्नतिमा सुस्तता

ज्यानकै जोखिम मोलेर बेनी–जोमसोम यात्रा : वर्षादमा उच्च जोखिम, स्तरोन्नतिमा सुस्तता


राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता यथावत रहेको छ । मनसुनी वर्षा जारी रहेर सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता देखिएको हो ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताउनुभयो । यी क्षेत्रमा सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्या व्यहोर्नुपरेको सडकमा ओहोरदोहोर गरिरहने चालक श्याम रानाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त रहेको बताएको छ । यो सडक २०६२\०६३ सालमा तत्कालिन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको थियो । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

यद्यपी सडक स्तरोन्नतिको काम सुस्तगतिमा अघि बढ्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता तत्काल हट्ने देखिदैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ७५ र माथिल्लो खण्डमा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ६० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ