Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसङ्खुवासभामा एकै परिवारका ६ सदस्यको सामूहिक हत्या, अनुसन्धान गर्दै प्रहरी

सङ्खुवासभामा एकै परिवारका ६ सदस्यको सामूहिक हत्या, अनुसन्धान गर्दै प्रहरी


सङ्खुवासभा, काठमाडौं । एकै परिवारका ६ सदस्यको सामूहिक हत्या भएको संखुवासभा काण्डको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा प्रस्तान गरेको छ । घटनाको अनुसन्धानका लागि गएको सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको टोली तालिम प्राप्त कुकुरसहित मादी पुगेर र प्राविधिक जाँच गरेपछि मात्रै शब उठाइने बताइएको छ ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्दैछन् । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु ६ घण्टा लाग्ने बताइएको छ । आइतवार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी नगरपालिका १ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको थियो । एकै परिवारका ६ जनाको हत्या भएको घटनामा घरमुली ८५ वर्षीय बौदमान कार्की भने सकुशल रहेका छन् । हत्या हुनेमा स्थानीयवासी ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी छोरी ३२ वर्षीया रञ्जना कार्की, छोरा ११ वर्षीय दिपेन कार्की र छोरी सात वर्षीया गोमा कार्की रहेका छन् ।

घटनाको प्रकृति हेर्दा कसैले दौडाइ–दौडाइ हत्या गरेको जस्तो देखिन्छ । शवहरू घरको आँगन र खरबारीतिर यत्रतत्र छरिएको अवस्था फेला परेका छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले एकै जनाले घटना घटाएको नभई धेरैको संलग्नताको आँकलन गरेको छ । घटनाको जानकारी प्राप्त हुनेबित्तिकै सोमवार दिउँसो घटनास्थलमा पुगेर प्रारम्भिक छानबिन सुरु गरेको प्रहरीले अहिले नै कसले, किन र कसरी हत्या गरे भन्ने यकिन गर्न सकिने अवस्था नभएको बताएको छ । घटनास्थल विकट भएकाले अहिलेसम्म शव जाँच गरिएको छैन । घटनास्थलमा तारबार गरेर राखिएको छ । धरानबाट तालिम प्राप्त कुकुरसहितको विज्ञ टोली आएपछि मात्रै शव हेर्ने काम सुरु हुने बताइएको छ ।

सङ्खुवासभाका प्रजिअले यस्तो भने :
प्रारम्भिक घटना हेर्दा हत्या भएको जस्तो देखिएको छ । प्रायः सबै शव घोप्टो परेको अवस्थामा भेटिएको छ । जिल्लाबाट डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा टोली परिचालन भएको छ भने सङ्घीय इकाइ अन्तर्गत धरानबाट तालिम प्राप्त कुकुरसहितको विज्ञ प्रहरी टोली घटनास्थलमा आउँदै गरेको अवस्था छ । यस्तै अभियुक्तहरू भाग्न नपाउन भनेर जिल्लाका सबै सम्भावित नाका र छिमेकी जिल्लामा समेत जाँचलाई कडाइ गर्न अनुरोध गरिएको छ । आज रात परेकाले विस्तृत विवरण भोलिमात्रै आउने देखिन्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्दछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ