Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकाका चोक र सडककको सबै फोहोर उठ्न केही समय लाग्ने

काठमाडौं उपत्यकाका चोक र सडककको सबै फोहोर उठ्न केही समय लाग्ने


काठमाडौँ । लामो समयसम्म घर र सडकमा थुप्रिएको फोहोर विगत पाँच दिनदेखी उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोकमा अझै फोहोरको डंगुर थुप्रिएको छ । पछिल्लो एक महिनादेखी व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत अधिकांश खोला कोरिडोर क्षेत्रका सडक किनारामा थुप्रिएको फोहरको डङ्गुर अझै उस्तै छ ।

मनसुनी बर्षा र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । सिसडोलमा फोहोर व्यवस्थापन गर्ने स्थान पर्याप्त भएपनि सडकमा गाडी फस्ने समस्याले फोहोर भण्डारस्थलसम्म पुग्न सकेको थिएन । काठमाडौं महानगरपािलकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने– ‘धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ ।’

लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन गर्न गाह्रो परेको महानगरपालिका बताउँछ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर उठाएर सिसडोल लगिने श्रेष्ठले जानकारी दिए । काठमाडौं महानगरले अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको हुनसक्ने आँकलन गरेको छ । गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो । अवरोध गर्दै आएका स्थानीयले समेत सहमति दिएका थिए ।

१६ वर्षदेखी उपत्यकाको फोहोर सिसडोलमा
सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरेर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन थालिएको थियो । तर पछि माटोले पुर्दै केही ठाउँ विस्तार गरेर फोहर व्यवस्थापनलाई निरन्तरता दिइएको थियो । फोहरको पहाड बनेको सिसडोलमा अहिले माटो राखेर फोहोरको डंगुरमाथी नै सडक बनाएर फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने व्यवस्था मिलाइएको छ । तर बर्षादको समयमा फोहोरको पहाडको सडकमार्फत फोहोरमैला लैजान समस्या व्यहोर्नुपरिरहेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल पठाइन्छ । सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन भैरहेको छ ।

कहिले सञ्चालनमा आउँछ बञ्चरेडाँडाको ल्याण्डफिल साइड ?
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएपनि निर्माणमा भैरहेको सुस्तताले कहिलेबाट सञ्चालनमा आउने अनिश्चित देखिएको छ । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गरिदैछ । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता भएको थियो । एक वर्षभित्र विसर्जन स्थल निर्माण गर्न ३४ करोड ६८ लाख ७४ हजार ८९५ लागतको सम्झौता भएपनि अहिलेसम्म पुरा भएको छैन । बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागले अघि बढाएका थिए ।

फोहोरमैलाको दुर्गन्धले आजित भएको भन्दै स्थानीयको बिरोधपछि सुरु गरिएको बञ्चरेडाडाको फोहोर व्यवस्थापन स्थलले ८, १० वर्ष उपत्यकाको फोहोर धान्ने आँकलन गरिएको छ । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । तर सुस्त गतिमा निर्माण गरिदा उपत्यकाको फोहर व्यवस्थापनमा सास्ती दोहोरिने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ