Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक वर्षमा ३४ सय विदेशी कामदार नेपाल भित्रिए, ३ लाख बढी नेपाली बाहिरिए

एक वर्षमा ३४ सय विदेशी कामदार नेपाल भित्रिए, ३ लाख बढी नेपाली बाहिरिए


काठमाडौं । एक वर्षको अवधिमा करिब ३४ सय विदेशीहरु कामदार भिसा लिएर नेपाल भित्रिएका छन् । यहि समयमा नेपालबाट भने विभिन्न अवसरको खोजीका लागि ३ लाख भन्दा बढी नेपाली विदेशीएका छन् । अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को १२ महिनाको अवधिमा अध्यागमन विभाग (एकल बिन्दु सेवा)बाट ६० र अध्यागमन विभागको गैरपर्यटक शाखाबाट ३३३१ गरि कुल ३३९१ जनाले कामदार भिसा लिएको पाइएको हो ।

नेपालमा कामदारका रुपमा आउने विदेशीमध्ये तेस्रो मुलुकका नागरिकले मात्र भिसा लगाउनु पर्छ । भारतबाट आउने कामदारले भिसा लगाउनु नपर्ने भएकाले यहाँबाट भित्रिएका कामदारको संख्या यति नै छ भन्ने एकिन छैन । यो वर्ष गैरपर्यटक भिसा लगाएर १३ हजार १०३ जना विदेशी नेपाल भित्रिएकोमा छन् । अधिकांशले कामदार र व्यवसायिक भिसा लिएको बताइएको छ । यो वर्ष व्यवसायिक भिसा लिएर नेपाल आउनेको संख्या २ हजार ६५२ रहेको विभागको तथ्यांकले देखाएको छ ।

अध्यागमन विभागले एक वर्षमा जारी गरेका विभिन्न भिसाहरु
व्यवसायिक भिसा : २६५२
कामदार भिसा : ३१९१
नाता भिसा : ४४११
वैवाहिक भिसा : १२६५
अध्ययन भिसा  : १२५८
गैरआवासीय नेपाली भिसा : ११००
आवासीय भिसा : २१
प्रेस भिसा : १०
भिसा स्टिकर : ४४
पर्यटक भिसा : १६८३६
पदयात्रामा पुगेकाहरु : ३०९

नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा खर्चालु पर्यटक पदयात्री भएपनि कोरोना महामारीका कारण लगातार दोस्रो वर्ष पनि पदयात्राका लागि आउने पर्यटकको संख्यामा ठूलो कमी आएको छ । एक वर्षको अवधिमा कुल ३०९ जना पर्यटकले पदयात्रा अनुमति पत्र लिएका छन् । २०७८ वैशाख मा मात्र १३७ जनाले अनुमति लिएका छन् । यो महिना नेपालमा पर्वतारोहणका लागि समेत बढी संख्यामा पर्यटक आएका थिए ।

देश निकाला भएका विदेशीहरु
नेपालबाट एक वर्षको अवधिमा नेपालबाट २७७ जना विदेशी देश निकालामा परेका छन् । विभागका अनुसार नेपालमा ‘ओभर स्टे –भिसा अवधि सकिएपछि पनि बसिरहेका)’ पर्यटक बढी संख्यामा देश निकालामा परेका हुन् । कुल २३२ जनालाई ओभर स्टेको अभियोगमा नेपालबाट निकालिएको छ । विदेशी विनिमयको अवैध कारोबारको कसुरमा ३ जना देश निकालामा परेका छन् । धर्म प्रचारको अभियोगमा ७, लागु औषधको अभियोगमा ८, आन्दोलनमा सहभागी भएको भन्दै ४, बीना भिसा आएका ४, चोरीमा संलग्न २, मानव बेचविखनको अभियोगमा २, बाल यौन दूराचारको अभियोगमा २, खोटा चलनको अभियोगमा ४ जनालाई समेत देश निकाला गरिएको छ । बैंकिङ कसुर, भिसा अनियमित, राहदानी च्यातेको, जालसाची, सुनचोरीजस्ता अभियोगमा समातिएका विदेशीलाई समेत देश निकाला गरिएको छ ।

एक वर्षमा ६८ हजार १८१ विदेशी र ४ लाख नेपाली नेपाल भित्रिए

एक वर्षको अवधिमा नेपालमा विभिन्न मुलुकमा भित्रने कुल विदेशी नागरिकको संख्या ६८ हजार १ सय ८१ रहेको छ । यो अवधिमा सबैभन्दा बढी भारतबाट ३२ हजार ६९२ जना नेपाल आएका छन् । चीनबाट ५५६९ जना नेपाल आएको देखिएको छ । अमेरिकाबाट ८८७०, बेलायतबाट ३०६०, रुसबाट १२७६ र टर्कीबाट ११०९ जना नेपाल भित्रिएका छन् ।

नेपालबाट भने कुल ७० हजार ३ सय ८ जना विदेशी बाहिरिएका छन् । यो संख्या समेत सबैभन्दा बढी भारतीय नागरिकको रहेको छ । एक वर्षको अवधिमा विभिन्न मुलुकमा रहेका ४ लाख १४ हजार ४ सय ५० जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपालबाट वैदेशिक रोजगारी र अन्य विभिन्न प्रयोजनका लागि ३ लाख ४ हजार १९९ जना नेपाली विदेशीएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ