Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकस्ले सुन्ने मजदुरको पीडा ? समस्या लुकाएर आफै राहत बाढ्छन रात्रिकालिन व्यवसायी

कस्ले सुन्ने मजदुरको पीडा ? समस्या लुकाएर आफै राहत बाढ्छन रात्रिकालिन व्यवसायी


काठमाडौं । कोरोना महामारी रोकथामका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाको मार यतिबेला सिंगो देशले ब्यहोरिरहेको छ । अत्यावश्यक वस्तु तथा सेवाको व्यापार यथावत रहँदा केही व्यवसायीको जिवनयापन चलायमान भएपनि विभिन्न उद्योग तथा व्यवसायमा आवद्ध हजारौँ व्यवसायी र लाखौँ मजदुरहरु यतिबेला महामारिको चर्को मार खेपिरहेका छन् । तर सरकारले समस्यामा परेका नागरिकलाई र व्यवसायीलाई राहत दिन सकिरहेको छैन ।

कोरोना महामारी रोकथामको सुरुवाती समयमा स्थानीय तहमार्फत केही राहत वितरण गरिएपनि अहिले यस्ता कार्यक्रमहरु ठप्प छन् । अहिले विभिन्न समाजिक संघ संस्था र बन्दाबन्दीको मार खेपिरहेका कतिपय व्यवसायीहरु नै रोगसँगै भोकको चिन्तामा रहेकाहरुलाई राहत बोकेर घरदौडोसम्म पुगिरहेका छन् ।

रात्रिकालिन व्यवसायीको राहत
बन्दाबन्दीको मार खेपिरहेका रात्रिकालिन व्यवसायीहरु अहिले रोजगारी खोसिएर कोठामा बसेका श्रमिक कर्मचारीलाई राहत दिन अग्रसर छन् । रात्रीकालिन मनोरञ्जन प्रदान गर्ने दोहोरि साँझ, रोदी घर, डान्स बार, डिस्को क्लब लञ्जबारहरु बन्द अवस्थामा रहँदा आफै संकटमा परेका व्यवसायी विगत एकसातादेखी राहतमा खटिएका छन् ।

रात्रिकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का पटक पटक राहत र सहयोगका लागि सरकारसँग पहल गर्दा सुनुवाई नभएपनि आफै श्रमिकलाई राहत बाढ्न अग्रसर भएको बताउँछन् । ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय परेको गुनासोसहित व्यवसाय सञ्चालन र राहतका लागि दबाब दिदैआएका व्यवसायी अब निरन्तर रोजगारी खोसिएको श्रमिकको सेवामा जोडिने बताउँछन् ।

रात्रिकालिन व्यवसायी आशिष खड्कासहित दिनेश थापा, सुजन श्रेष्ठ, राजकुमार कार्की, शिव बुढा र नेत्र श्रेष्ठको सक्रियतामा सुरु भएको राहत वितरण कार्यक्रमले अहिले रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायमा आवद्ध मजदुरलाई प्राथमिकता दिएपनि पछि अन्य विपन्न श्रमिकलाई समेत राहत दिने योजना बनाएको छ । जेठ २४ गतेबाट सुरु भएको राहत वितरण कायक्रम मार्फत ८ सय बोरा चामल, एक हजार केजी दाल, १ सय काटुन तेल, २५ बोरा नुन वितरण गरिएको छ । अहिलेसम्म एक हजार विपन्न रात्रीकालिन मजदुरलाई राहत दिइएको छ ।

के छ रात्रिकालिन व्यवसायीको अवस्था ?
व्यवसायीसँगको तथ्यांक अनुसार देशभर १ हजारको हाराहारीमा रात्रीकालिन व्यवसायहरु छन् । यसमा अर्बैको लगानी छ भने प्रत्यक्ष रोगजारी पाएका ५० हजारसँगको आश्रीत परिवार सदस्यको संख्या नै ५ लाखभन्दा बढी छ । अझ कतिपय कलाकार तथा लोकगायक यही क्षेत्रबाट जन्मिएका छन् । रात्रीकालिन व्यवसायबाट सयौँ पलायन हुने अवस्था आउँदा लखौँको चुलो बाल्नै धौँ धौँ हुँदा समेत सरकार गम्भिर देखिएको छैन ।

सरकारले बेवास्ता गरेपनि व्यवसायीले दिएको केही राहतमा समेत लामो समयदेखी कामबिहिन भएका श्रमिकहरु खुसी देखिन्छन् । अघिल्लो पटकको लकडाउनमा समेत रात्रिकालिन व्यवसायी तथा मजदुरहरुले राहत लगायतका विभिन्न माग सरकारसँग राखेका थिए । सरकारले चासो नदिएपनि व्यवसायीहरु आफैले अग्रसर भएर मजदुरलाई राहत दिएका थिए । रात्रीकालिन व्यवसायमा देखिएका बिक्रिति रोक्न तथा अर्बौको लगानी रहेको तथा लाखौँलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय र आश्रित श्रमिकलाई जोगाउन सरकार जिम्मेवार र गम्भिर बन्ने कि ? व्यवसायी तथा श्रमिकले प्रश्न गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ