Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलसहित प्यानल नै विजयी

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलसहित प्यानल नै विजयी


काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले साँझ मात्रै औपचारिक घोषणा गर्ने जानकारी गराएको छ ।

पाँच जिल्लाको मत नजोड्दै पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले नै विजय जुलुस निकालेर विजय उत्सब मनाउन थालेको छ । निर्वाचन समितिका अनुसार अधिकांश उम्मेदवार पोखरेल प्यानलका विजयी भएका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलको अध्यक्षतामा रहेको प्यानल चुनावी मैदानमा होमिएको थियो । यहि प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् । लेखा समितिसहित अधिकांश सदस्यहरु समेत पोखरेल प्यानलकै विजयी भएका छन् ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्माको अध्यक्षतामा रहेको प्यानललाई चुनावी मैदानमा होमाएको थियो । यस्तै गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका शर्मा प्यानलका माधव नेपाल, महिला उपाध्यक्षमा दाना केसी, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लातर्फ रामकृष्ण ज्ञवाली लगायत सिंगो प्यानल नै पराजित भएको छ । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता सहभागि भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ