Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsके यस्तो प्रमाणले मात्र राजदुत माथीकाे आराेप पुष्टी हाेला त ? प्रमाणहरुकाे चिरफार

के यस्तो प्रमाणले मात्र राजदुत माथीकाे आराेप पुष्टी हाेला त ? प्रमाणहरुकाे चिरफार


वाङ्छु शेर्पा र राजदुतकाे श्रीमानबिच भएकाे भनिएकाे तमसुक
वाङ्छु र राजदुतकाे श्रीमानबिच भएका फेसबुक मेसेज
राजदुत लक्की शेर्पा
राजदुतका भान्से/चालक वाङ्छु शेर्पा

समाचार  टिप्पणी

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथी उनकै चालक/भान्सेले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएकाे आराेप लगाए । उनकाे आराेप राष्ट्रिय टेलिभिजनकाे चर्चित कार्यक्रममा सार्वजनिक भएकाले हल्ला भुसकाे आगाेसरी फैलिन केही बेर लागेन । स्वभाविक रुपले अष्ट्रेलियाका नेपाली समाजमा यसले बढी तरंग ल्यायाे । समाजिक संजालमा राजदूतमाथी लागेकाे आराेपकाे सत्यतामाथी बहस भईरहेका छन् । 

सबैकाे एउटै प्रश्न छ- आराेप पुष्टी हुने आधार र प्रमाण के छन् त? 

याे प्रश्नले अष्ट्रेलियामा घण्टे हानेर बचेकुचेकाे समय पत्रकारितामा खर्च गरिरहका हामी श्रमजिवी पत्रकारमाथी पनि तेर्सियाे । जुन स्वभाविक थियाे । 

याे प्रश्न मेरालागि झन् पेचिलाे बनेकाे छ । कारण मैले, आराेप लगाउने वाङ्छुलाई पनि भेट्ने माैका पाए । भेटकाे प्रसंग कुनै बेला लेखुलाँ । 

त्यसाे त, शक्तिकाे आडमा जे पनि गर्न पछि नपर्ने नेपाली  भिआईपीले याे काण्ड पनि गरेन हाेला  भनेर तर्क गर्न गार्हाे छ । त्यसैले पनि पदकाे दुरुपयाेग गर्नेकाे भण्डाफाेर गरि कानुनी कठघरमा उभ्याउन म प्रमाण खाेज्न जुटे । 

अष्ट्रेलियाली नेपाली समाजका धेरै वर्गका मानिस, साथीभाई र नेपालबाट आएका टेलिफाेनमा सबैले एउटै प्रश्न साेध्ने गरेका छन् । 

त्यसकाे सामुहिक जवाफ हाे याे टिप्पणी । याे बसाईमा म दुबैपक्षले पेश गरेका आधारहरु प्रस्तुत गर्दैछु । अष्ट्रेलियन कानुन र सम्मानित अदालतमा वाङ्छु विरुद्धकाे मुद्दा विचाधिन भएकाले केही व्यक्तिगत सुचनाहरु लेख्ने चेष्टा गरेकाे छैन । राजदुत र वाङ्छुलाई भेटेपछि मैले प्राप्त गरेकाे सुचनाकाे आधारमा याे स्वत्तन्त्र टिप्पणी लेखिरहेकाे छु ।  खाेजमुलक समाचार लेख्दा सबैभन्दा गहन विषय हुन्छ प्राप्त सुचनाहरुकाे सत्यताकाे जाँच । प्राप्त सुचनाकाे जाँचपछि याे टिप्पणी लेखिरहेकाे छु ।  मेराे क्षमताभन्दा बाहिरका सूचना अरुसंग छन् भने त्यसकाे विश्लेषण उनीहरुबाटै आउने नै छन् । 

राजदूत माथी लागेकाे आराेप सार्वजनिक भईसकेकाले खासै लेखिरहन मन लागेन । 

त्यसैले सिधै आराेपकाे आधारतर्फ लागाै । (यहा प्रस्तुत तथ्यहरुकाे भिडियाे र तस्बिर सुरक्षित छ )

राजदूतले चालक/भान्से वाङ्छु शेर्पासंग पैसा लिएर अष्ट्रेलिया ल्याएकाे पुष्टी गर्ने आधार – तमसुक ?

वाङ्छुले रबि लामिछानेसंग लाईभमा राजदूतका श्रीमान् र आफुबिच अष्ट्रेलिया लैजान तिर्नुपर्ने ६४ लाखकाे तमसुक भएकाे दावी गरेका थिए । मसंगकाे भेटमा पनि तमसुकबारे प्रश्न राखे । उनले माेवाईलमा रहेकाे तमसुक देखाए । एक हरफकाे तमसुकमा घरायसी लनदेनका क्रममा वाङ्छुले ६४ लाख रुपैया ४ वर्षमा राजदुतका श्रीमानलाई तिर्नुपर्ने लेखिएकाे छ । तर, साछी बिनाकाे तमसुकमा वाङ्छुकाे हस्ताक्षर भएपनि  राजदुतका श्रीमानकाे हस्ताक्षर छैन । हस्ताक्षर खै त भन्ने प्रश्नमा वाङ्छु भन्छन्- कागज गर्ने बेला राजदुतका श्रीमान् नेपालमा भएकाले हस्ताक्षर गराउन सकिएन । 

घरायसी लेनदेनकाे यति ठुलाे रकम भएकाे तमसुकमा पैसा दिने र साछीकाे हस्ताक्षर नभएपछि यसकाे सच्चाई कसरी पुष्टी हाेला ? 

अर्काे प्रमाण एसएमएस र म्यासेन्जर 

राजदुतमाथीकाे आराेप पुष्टी गर्ने सक्ने अर्काे आधारभन्दै फेसबुक र म्यासेजमा भएकाे कुराकानी आराेपकर्ताले पेश गरेका थिए टेलिभिजनमा । त्यसबारे पनि मैले भेटमा प्रश्न गरे । माेवाईलकाे स्क्रिनसटका रुपमा सुरक्षित ती मेसेजहरु वाङ्छु र राजदुतका श्रीमान् बिचकाे थियाे । तर, बुझ्न लायक चाहि के छ भने, ३२ लाख, ६४ लाख मैले दिएकाे भन्दै वाङ्छुले एकाेहाेराे मेसेज पठाएकाे देखिन्छ । पैसा र अरु व्यक्तिकाे बारेमा वाङ्छुले पठाएकाे मेसेजमा राजदुतका श्रीमानले ‘तमसुकमा कसैले हस्ताक्षर गरेकाे छैन । त्याे फेक हाे । चिन्ता छैन । किन भागेकाे  ? क्लियर गरेकाे भए हुन्थ्याे भनेर जवाफ पठाएका छन् । 

एसमएसमा वाङ्छुकाे श्रीमती अष्ट्रेलिया ल्याउने भन्दै दाेहाेराे कुराकानी चाहि भएकाे छ । जसमा राजदुतकाे श्रीमानले वाङ्छुलाई श्रीमतीकाे छिटाे मेडिकल र पुलिस रिपाेर्ट बनाउन सुझाएका छन् । त्यसपछिकाे अर्काे मेसेजमा भने, राजदुतका श्रीमानले हामीले तिम्राे श्रीमतीलाई ल्याएर सहयाेग गर्न लागेपनि तिमी दुतावासबाट भागेकाले ल्याउन नसकिएकाे भन्दै वाङ्छुसंग गुनासाे गरेका छन् । 

याे कुराकानीले वाङ्छुकाे श्रीमती अष्ट्रेलिया आउने तयारीमा रहेकाे बुझिएपनि पैसा नै दिएर ल्याउन लागिएकाे भनेर स्वतन्त्र पुष्टी कसरी हाेला ? 

बैंक खाता

त्यसाे त, वाङ्छुले बैक खाता बारे पनि कुरा राखेका छन् । राजदुतकाे श्रीमानकाे बैंक खाता समेत सार्वजनिक गरिदिएका छन् । तर, राजदुतले सिड्नीमा केही संचारकर्मी र समाजिक अगुवासंग भेटेर आफ्नाे बैंक खाता र अन्य आराेपकाे स्वतन्त्र छानविन गर्न आफुले संघिय प्रहरीलाई सघाएकाे दावी गरेकी छिन् । उनले वाङ्छुले सिंगापुरबाट लिएकाे भनिएकाे पैसा आफ्नाे खाता वा नगद रुपमा नलिएकाे छानविनबाट देखिसकेकाे  दावी गरिन् । 

कुटनीतिक दायरा अनुसन्धानका लागि खुल्ला 

साेमबार सिड्नीमा राजदुत शेर्पाले संचारकर्मी, सामाजिक अगुवा, एनआरएनका पदाधिकारीलाई भेट गरे । संचारकर्मीकाे समुहमा म पनि सामेल थिए । राजदुतले आफुलाई जवरजस्त फसाईएकाे बताईन् । उनले संचारकर्मी र अगुवा सामुन्य आफुमाथी लागेकाे आराेपमाथी विना कुनै बाधा छानविन गर्न अष्ट्रेलियाकाे संघिय प्रहरी र परराष्ट्र मन्त्रालयमा आफुले एक वर्ष अघिनै पत्राचार गरेकाे विवरण देखाईन् । कुटनीतिक मर्यादा अनुसार राजदुतकाे बैक खाता लगायत छानविन गर्न प्रहरीलाई अप्ठ्याराे हाेला भनेर मैले डिप्लेम्याटिक युमिनिटी ओपन गरिदिएकाे हाे छानविनका लागि राजदुतले संचारकर्मी र अगुवासमक्ष स्पष्ट पारिन् । 

 दुतावासकाे चाेरी, संघिय प्रहरीकाे छानविन र ब्रिजिङ भिषामा वाङ्छु

वाङ्छु गत वर्ष नै दुतावासबाट ३ ताेला सुन चाेरी गरि फरार रहेकाे सुचना दुतावासकाे फेसबुकमा सार्वजनिक भयाे । तर, वाङ्छु भने चाेरेर नभई संघिय प्रहरीसंग गएकाे बताउछन् । संघिय प्रहरीले वाङ्छुकाे आराेपमा सात महिना लामाे अनुसन्धान गरेकाे वाङ्छ नै बताउछन् । उनकाे आराेपकाे छानविन भएकाे भन्ने आधार एक वर्ष अघि राजदुतले कुटनैतिक घेरा खुल्ला गरेकाे पत्रबाट पनि पुष्टी हुन्छ । 

छनविनबाट वाङ्छु स्वतन्त्र भईसकेका छन् भने,  यहाँकाे प्रहरी र परराष्ट्रले दुतावास वा राजदुतसंग सम्बन्धी विषयमा केही पत्रचार वा आपत्ति जनाएकाे देखिदैन । याे कुरा राजदुतले सामाजिक अगुवासंग सार्वजनिक गरेकी छिन् । 

याे कुरा वाङ्छु पनि मान्छन् । बरु उनी त, ब्रिजिङ भिषा पाएकामा दंग छन् । र भनिरहका छन् – श्रीमतिलाई जेलबाट निकाल्न मात्र मैले याे कुरा मिडियामा ल्याएकाे हाे । 

वाङ्छुकाे श्रीमती किन जेल गए ? 

राजदुत, उनका श्रीमान् र वाङ्छुबिच आर्थिक लेनदेनकाे ठाेस आधार नदेखिएपनि वाङ्छुकाे श्रीमती र सिंगापुरमा बस्ने एक युवाबिच भने लेनदेन भएकाे बैकिक रेकर्ड भेटियाे । तीनै युवाले आफुलाई अष्ट्रेलिया लेजाने भन्दै वाङ्छुले पैसा लिएकाे र उनकी श्रीमतिकाे नाममा पैसा पठाएकाे बयान दिएका थिए । त्यहि आधारमा वाङ्छुकाे श्रीमति जेल परेकी हुन् भने,  वाङ्छु विरुद्ध पनि अदालतमा मुद्दा विचाराधिन छ । 

यहाँ कसैलाई दाेषी र कसैलाई सफाई भन्दा पनि आराेप पुष्टी गर्ने आधारबारे सरसर्ती लेखिएकाे हाे । याे पढेर तपाई आफ्नाे बिचार बनाउन स्वतन्त्र हुनुहुन्छ । 

नाेट: अष्ट्रेलियामा गाेप्य रुपमा गरिने भिडियाे वा अडियाे रेकर्ड गैरकानुनी भएकाले वाङ्छुसंग भएकाे भनिएकाे संवाद मैले सुन्न नपाएकाले त्यसबारे मेराे कुनै टिप्पणी छैन । 

टिप्पणीकार सरल गुरुङ नेपालकाे राष्ट्रिय टेलिभजनमा १० वर्ष लामाे अपराध र खाेजमुलक बिटमा रिपाेर्टिङ गरेका पत्रकार हुन् । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ