Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleबेलायत जान ४५ जना नेपाली नर्स छनौट, वर्षमा ४३ लाख बढी कमाई हुने !

बेलायत जान ४५ जना नेपाली नर्स छनौट, वर्षमा ४३ लाख बढी कमाई हुने !


काठमाडौं । सरकारी तवरबाट बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएकाे वैदेशिक रोजगार विभागका निर्देशक गोपालराज तिमल्सिनाले जानकारी दिनुभएको हो ।

बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा पहिलो प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी समझदारी भएको थियो । सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरेर आवेदन माग गरेको थियो । आवेदन अवधिमा ७ सय ७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेपछि ७८ जना मात्रैको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदन मध्यबाट योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक भएपनि ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएकोमा कम्तीमा दुई वर्षको अनुभव, अंग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र पेस गर्नुपर्ने मापदण्डका कारण ४५ जना मात्रै योग्य ठहर भएका थिए । अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या परेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अधिकारीहरु बताउँछन् । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्याले मागेको जति आवेदन संख्या पुग्न नसकेको विभागका निर्देशक तिमल्सिनाले बताउनुभयो ।

यस्तो छ योग्यताको मापदण्ड
नेपाल र बेलायतबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) अनिवार्य चाहिन्छ । नर्सहरूले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने चारवटा मापदण्डमा अंक दिइने आईईएलटीएसमा लेख्नेबाहेक सबैमा ७ अंक ल्याउनुपर्छ । छनोट भएर गएका नेपाली नर्सले बेलायतमै पनि तीन महिनाको एउटा तालिम लिनुपर्छ । उक्त तालिमबाट योग्य बनेपछि मात्र स्वास्थ्य संस्थामा काम गर्न पाईन्छ । तालिम अवधिमा पनि पारिश्रमिक भने उपलब्ध हुनेछ ।

बेलायतस्थित ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले नेपाली नर्सको अन्तर्वार्ता लिएका थिए । सफल नर्सहरूलाई छिट्टै छनोट बारेको सूचना दिएर सन् २०२४ को तीनमहिना देखि बेलायत पठाउन थालिने विभागले जानकारी दिएको छ ।

मापदण्ड पूरा गरेका नेपाली नर्सहरू बेलायतमा दर्ता भएपछि त्यहाँका दर्ता भएका नर्स बराबरको तलब भत्ता पाउनेछन् । सम्झौता अनुसार नेपालबाट जाने नर्सहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म हुनेछ । तलबबाहेक २७ दिनको वार्षिक र सार्वजनिक बिदाको सुविधा समेत नर्सहरुले पाउनेछन् ।

यी हुन छनौट भएका नर्सहरु



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ