Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकर ठगी विरुद्ध आक्रामक बन्दै अष्ट्रेलिया सरकार, ४० हजारमाथी कारबाही सुरु !

कर ठगी विरुद्ध आक्रामक बन्दै अष्ट्रेलिया सरकार, ४० हजारमाथी कारबाही सुरु !


ब्रिजबेन, काठमाडौं । वित्तीय अपराधविरुद्ध शून्य सहनशीलता अपनाएको अष्ट्रेलिया सरकारले कर ठगीविरुद्धको नियमन र कारबाहीलाई तिब्रता दिएको छ । अष्ट्रेलियन कर कार्यालय (एटीओ) को नेतृत्वमा रहेको गम्भीर वित्तीय अपराध कार्यदल (एसएफसीटी) गुड्स एण्ड सर्भिस ट्याक्स ठगीमा संलग्न भएको आशंकामा करिब ४० हजार व्यक्तिहरूमाथी कारबाही अघि बढाएको हो ।

५ व्यक्ति र फर्मविरुद्ध कर ठगीको अभियोगमा वारेन्ट नै जारी गरिएको छ । अपरेशन प्रोटेगोको एउटा सुरुवात स्वरुप सिड्नीका पाँच संदिग्ध अपराधीमाथी अस्ट्रेलियन संघीय प्रहरी (एएफपी) र एनएसडब्ल्यू प्रहरीको सहयोगमा यस हप्ता खोजी वारेन्ट जारि गरिएको पाइएको छ । गत महिना मात्रै गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) ठगीको आशंकामा देशभरका १९ व्यक्तिका फममा छापा मारिएको छ । अष्ट्रेलियन कर कार्यालय (एटीओ) का डेपुटी कमिश्नर र गम्भिर वित्तिय अपराध कार्यदलका प्रमुख विल डेले अस्ट्रेलियाको कर प्रणालीलाई चुनौति दिएर ठगी गर्नेहरुविरुद्ध शून्य सहनशीलताका साध कारबाही अघि बढाइने बताउनुभएको छ । नक्कली व्यवसाय खडा गरेर झुठो विवरण र कागजात पेश गर्नेहरुको पहिचान अनि ट्याक्स रिटर्न मार्फत ठगी गर्नेहरुविरुद्ध सरकारले खोजी र कारबाहीलाई तिब्रता दिएको पाइएको छ ।

“कसले बीएएस दर्ता गरेको छ र कसले नक्कली व्यवसाय सिर्जना गरेर कर नितिमा चुनौती दिएको छ भन्ने बारे सरकारी संयन्त्रले नियन गरिरहेको छ । यस्तो ठगीमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीमा राज्य गम्भिर भएकाले जेल लगायतका गम्भिर परिणामको सामनाबाट बच्न सबैलाई सचेत गराउँदछौँ ।” कार्यदल प्रमुख डेले भन्नुभएको छ । अपरेशन प्रोटेगो मार्फत कर ठगीमा संलग्नको पहिचान र क्रमशः सार्वजनिक गर्दै जाने रणनीति कार्यदलले बनाएको छ । अष्ट्रेलियन क्रिमिनल इन्टेलिजेन्स कमिसन (एसीआईसी) ले ठगीको प्रमाणसहित करिब २९,००० व्यक्तिहरूको विवरणहरू उपलब्ध गराएको समेत कार्यदलले जनाएको छ ।

कार्यदलको पछिल्लो रिपोर्टले अष्ट्रेलियामा वित्तीय अपराधको जालो ठूलो रहेको र यसले गम्भीर अपराधको रुप लिने आँकलन गरेसँगै नियमन र कारबाहीमा राज्य संयन्त्र गम्भिर बनेको छ । वित्तीय अपराध रोक्न सूचना आदानप्रदान मार्फत सघाउन वित्तीय संस्था, प्रहरी, सामाजिक सञ्जाल प्लेटफर्म र अन्य सरकारी निकायहरूलाई गम्भीर वित्तीय अपराध कार्यदलले आह्वान समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ