Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्रिप्टोको नेटवर्किङमा लगानी गर्दा अष्ट्रेलियाका नेपालीको करोडौ रकम डुब्दै

क्रिप्टोको नेटवर्किङमा लगानी गर्दा अष्ट्रेलियाका नेपालीको करोडौ रकम डुब्दै

नेपालबाट पनि लगानी


ब्रिजवेन/ रातारात धनी हुने लोभमा क्रिप्टो करेन्सीको नेटवर्किङ व्यवसायमा लगानी गर्दा अष्ट्रेलियाका नेपालीको करोडौं रुपैया डुब्ने जोखिम बढेको छ । लगानी गरेको कम्पनीले एक महिनादेखि लगानीको बोनस रोकिदिएको मात्र छैन कि व्यक्तिगत खाता नै नखुल्ने बनाइदिएपछि पैसा डुब्ने जोखिम बढेको हो ।

खाता नै नखुल्ने भएपछि बोनसमात्र होइन लगानी गरेको रकम नै नउठ्ने जोखिम बढेको छ । नेपालट्युबलाई प्राप्त तथ्य प्रमाणका आधारमा अष्ट्रेलियाका १ सयभन्दा बढी नेपालीले क्रिप्टो करेन्सीको ब्लकचेनमा लगानी गर्ने दाबी गर्ने मोडल फार्मिङ भन्ने कम्पनीमा पैसा हालेका छन् । यसमा लगानी गर्ने नेपालीहरुसंग कुरा गर्दा अष्ट्रेलिया, नेपाल, मलेसिया र जापानमा गरि झण्डै १५ सय जना नेपालीले यो कम्पनीमा ३ मिलियन अमेरिकी डलरभन्दा बढी पैसा हालेका छन् ।

सिड्नीका सापकोटा थरका नेपालीले सन् २०२१ अक्टोबरमा २ सय अमेरिकी डलरबाट यसमा लगानी सुरु गरेका थिए । उनको मात्रै अहिले ३ लाख अमेरिकी डलर लगानी छ । यस कम्पनीमा अष्ट्रेलियाबाट लगानी गर्ने उनी नै पहिलो नेपाली भएको बुझिएको छ । अरुलाई सदस्य बनाएर लगानी गराएमा सुरुको लगानीको ७ प्रतिशत बोनस पाइने कम्पनीको नियम छ । त्यस्तै लगानीबाट हरेक दिन उच्च व्याज पनि आउने कम्पनीले दाबी गरेको छ । पहिलो १० हजार अमेरिकी डलर लगानी गर्दा हरेक दिन १.५ प्रतिशत, १० देखि २५ हजारसम्मका लागि १.७ प्रतिशत र २५ देखि ५० हजार डलरसम्म लगानी गर्दा दैनिक २ प्रतिशत ब्याज पाउने यसमा लगानी गरेका सिड्नीका एक रजिष्टर्ड नर्सले नेपालट्युबलाई जानकारी दिए ।

उच्च ब्याज त्यसमाथी बोनस पनि पाइने भएपछि त्यसैमा लोभिएर धेरै नेपालीले पैसा खन्याएको देखिन्छ । आफुले सुरुमा आफ्नो आम्दानी देखेर पनि अन्य नेपालीले पनि लगानी गरेको सापकोटाको भनाई छ । कम्पनीले एक वर्षअघि देखि ब्लकचेनको नाममा नेपालीसंग पैसा उठाउन सुरु गरेको बुझिन्छ । सुरुका केही महिना बोनस रकम निकाल्न मिलेपनि सन् २०२२ अप्रिल २१ पछि पैसा निकाल्न नमिल्ने भएको लगानीकर्ता मध्येकी एकजनाले जानकारी दिए । कम्पनीले महिनाको तीन चोटी पैसा निकाल्न मिल्ने व्यवस्था गरेको उनको भनाई छ ।

सिड्नीकी खड्का थरीकी एक नेपाली नर्सले त घर किन्न राखेको पैसा श्रीमानलाई थाहा नदिई मोडल फार्मिङमा लगानी गरेको बताइन् । उनले पटक पटक गरेर ७० हजार अमेरिकी डलर लगानी गरेको हामीलाई विवरण प्राप्त भएको छ । त्यस्तै सिड्नीकै अर्की साही थरकी नेपालीले पनि २० हजार डलर भन्दा बढी रकम लगानी गरेको नेपालट्युबलाई बताईन् । एक जनाले कम्तिमा १ हजार अमेरिकी डलरदेखि ३ लाख डलरसम्म लगानी गरेका छन् । १० हजार डलर लगानी गर्ने त कति छन् कति ।  उनीहरुले बैंकमार्फत क्रिप्टो करेन्सी किनबेच गर्ने बाइनान्स खातामा पैसा पठाएर मोडल फार्मिङमा लगानी गरेका हुन् ।   हामीलाई प्राप्त ग्रुप च्याटमा आफुले मोडल फार्मिङमा गरेको लगानी बारे लेख्दै नेपालीहरु 

कम्पनीले आफ्नो खाता बन्द गरेर पैसा दिन रोकिदिएपछि यतिबेला ती नेपालीहरुले निकै अत्तालिएका छन् । दैनिक जसो जुममार्फत बैठक बसेर कम्पनीका प्रतिनिधीसंग पैसा दिन आग्रह गरिरहेका छन् । मोडल फार्मिङमा लगानी गरेका नेपालीहरुको प्राइभेट फेसबुक ग्रुपमा कानुनी बाटोमा जाने समेत छलफल भइरहेको छ । तर, उनीहरु कोही पनि आफ्नो पहिचान खोलेर बाहिर बोल्न सकिरहेका छैनन् । नेपालट्युबको सम्पर्कमा आएका सबैले आफ्नो नाम नखुलाइदिन आग्रह समेत गरेका छन् ।

निजी खातामा लगइन गर्दा अहिले यस्तो देखिन्छ

कम्पनीका सपोर्ट टिम प्रमुख दाबी गर्ने जेरेट रिचार्डसंग उनीहरुले वाट्सएपमार्फत सम्पर्क गरिरहेका छन् । उनले सुुरुका नेपाली लगानीकर्ता मध्येका एकले बदमासी गर्दा उनको तल रहेका सबैको खातामा समस्या आएको जानकारी दिएको लगानीकर्ता नर्स खड्काले नेपालीट्युबलाई जानकारी दिए । कस्तो बदमासी गरेको भन्ने बारे भने नखुलाएको खड्काको भनाई छ ।

उता लगानीकर्ता सापकोटालाई भने तीनै जेरेटले वाट्सएपमा सन्देश पठाएर नेपालीको सबै खाताहरु प्रमाणित गर्ने काम भइरहेकाले पैसा निकाल्ने प्रकृया रद्ध नभई तत्काललाई स्थगित मात्रै गरिएको बताएका छन् । त्यस्तै ५० प्रतिशत खाता प्रमाणित भइसकेकाले केही समयभित्रै सबैलाई रकम भुक्तानी समेत दिने बताएको सापकोटाले नेपालट्युबलाई जानकारी गराएका छन् । सापकोटाले हामीलाई उपलब्ध गराएको मेसेजको स्क्रिनसटमा कम्पनीको सपोर्ट टिम दाबी गर्ने जेरेटले पैसा आउन कति समय लाग्ने भन्ने बारे भने खुलाएका छैनन् ।

तर, सापकोटाले कम्पनीले प्रमाणित गर्ने काम गरिरहेकाले तत्कालै नआत्तिन सबैलाई अनुरोध गरेका छन् । त्यस्तै आवश्यक कानुनी प्रकृयाका बारेमा पनि छलफल अघि बढाउन सापकोटाले सुझाव दिएका छन् ।

नेपालट्युबले पनि तीनै जेरेट र कम्पनीको वेवसाइटमा उपलब्ध इमेलमा यसबारे सोधपुछ गरेको छ । Updates- हामीलाई वाट्सएपमा मेसेस पठाउदै मोडल फार्मिङका प्रतिनिधीले सोहि कुरा दोर्याएका छन् । सुरुमा सदस्य बन्ने व्यक्तिले नियम तोडेको र अन्य केही सदस्यलाई पनि नियम तोड्न लगाएकाले सदस्यहरुको खातामा रोक्का गरिएको ती प्रतिनिधीले जनाएका छन् । त्यस्तै केही दिनभित्रै खाता प्रमाणिकरण गरि सकेर, आधिकारिक लगानीकर्ताको खाता सुचारु गरि पैसा निकाल्न मिल्ने व्यवस्था गरिने उनको भनाई छ । ।

कम्पनीको वेवसाइटमा उपलब्ध जानकारी अनुसार सन् २०२० यता मोडल फार्मिङ कम्पनी अमेरिकी, बेलायत र न्युजिल्याण्डमा दर्ता भएको देखिन्छ । साइटमा उल्लेख भएअनुसार जो गोमेज यसका संस्थापक हुन् । ब्लकचेनका माध्यमबाट कृषिमा क्रान्ति ल्याउने यो कम्पनीको उदेश्य बताइएको छ ।


ट्याग : #Crypto, #model farming, #nepali in sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ