Sunday, 28 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा घरेलु हिंसा गरे ३ वर्ष जेल र १४ हजार डलर जरिवाना

अष्ट्रेलियामा घरेलु हिंसा गरे ३ वर्ष जेल र १४ हजार डलर जरिवाना


ब्रिजवेन/अष्ट्रेलियामा घरेलु हिंसाको अभियोगमा ३ वर्ष जेल र १४ हजार डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । ब्रिजवेनमा भएको घरेलु हिंसा सम्बन्धी जनचेतना कार्यक्रममा प्रस्तुती दिदै कानुन व्यवसायी डाक्टर हेमाङ शर्माले घरेलु हिंसाको प्रकृति हेरेर अदालतले अस्थाई वा ५ वर्षका लागि प्रोटेक्सन अर्डर दिन सक्ने बताउनुभयो ।

अर्डरमा पीडितलाई पीडकले कुनै पनि माध्यमबाट सम्पर्क गर्न नसक्ने तथा छेउछाउमा समेत आउन नपाउने गरि मापदण्ड तोकेको हुन्छ । अर्डरको मापदण्डको उल्घंन गरेमा पीडकलाई फौजदारी अभियोग लाग्दछ र पुष्टीमा भएका ३ वर्ष जेल र १४ हजार १३६ डलर जरिवानाको सजाय हुने डा. शर्माले बताउनुभयो ।

घरेलु हिंसामा परेका व्यक्तिले प्रहरी वा सिधै म्याजेष्ट्री अदालतमा गएर प्रोटेक्सन अर्डरका लागि प्रकृया अघि बढाउन सक्दछ । डाक्टर शर्माका अनुसार नेपालमा सामान्य लाग्ने घटनाहरु अष्ट्रेलियामा गम्भीर घरेलुहिंसाको मुद्धा बन्न सक्छ । अनुमति नलिई श्रीमान् वा श्रीमतिले एकअर्काको मोवाइल खानतलासी गर्नु,  बैंक खातामा नियन्त्रण गर्नु, हप्कीदप्की गर्नु पनि अष्ट्रेलियामा घरेलु हिंसा हुने कानुनी व्यवस्था रहेको डा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै आप्रवासी समुदायमा हुने घरेलु हिंसा सम्बन्धी विषयमा काम गर्दै आउनु भएकी कानुनी व्यवसायी बुनु गौतमले महिला र पुरुष दुबै माथी हिंसा हुने भएपनि, महिलामाथी हुने घटना भने निकै बढी रहेको बताउनुभयो । भिषामा असर पर्छ भनेर घरेलु हिंसाका घटना लुकाउने समस्या आप्रवासी समुदायमा देखिएको गौतमको भनाई छ ।

कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष मञ्जु खड्काले कोरोनाको समयमा त घरेलु हिंसाको घटना झनै बढेको भन्दै नेपाली समाजमा सचेतनाको आवश्यकता भएको बताउनुभयो ।

ब्रिजवेनको कुपरप्लेनको एक पुस्तकालयको हलमा भएको कार्यक्रममा सहभागीहरु जुमबाट समेत जोडिएका थिए । कार्यक्रममा मेलवर्नकी समाजिक अभियन्ता माधुरी मास्केले घरेलु हिंसाले निम्त्याउने समस्या र चुनौतीका बारेमा प्रस्तुती दिनुभएको थियो । घरेलु हिंसाका पीडितहरुले अष्ट्रेलियामा उपलब्ध स्रोत र साधनमा पहुच पुर्याउन नसक्नु चुनौतीपुर्ण रहेको मास्केको भनाई छ ।

त्यस्तै कार्यक्रममा कुईन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिका अध्यक्ष केशव शर्माले सांस्कृतिक र भाषगत अवरोधका कारण नेपाली समाजमा घरेलुहिंसा नियन्त्रणमा समस्यामा आएको बताउनुभयो । गैर आवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।


ट्याग : #brisbane, #domestic violence in australia, #nepali news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ