Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको आधा दर्जन सरकारी विद्यालयमा पढाइन्छ नेपाली भाषा र संस्कृति

सिड्नीको आधा दर्जन सरकारी विद्यालयमा पढाइन्छ नेपाली भाषा र संस्कृति

सरकारले दिदै अनुदान


सिड्नी/ सिड्नीको सरकारी विद्यालयहरुमा नेपाली भाषा र संस्कृति पढाउन थालेको पनि ११ वर्ष बितिसकेको छ । सन् २०१० मा गोरखा नेपलिज कम्युनिटी जिएनसी र गुठी अष्ट्रेलियाको पहलमा सिड्नीको म्यारिकभिल सामुदायिक विद्यालयबाट नेपाली भाषा पढाउन सुरु भएको हो । एउटा बिद्यालयबाट सुरु शब्दमाला नेपाली भाषा विद्यालय अहिले ६ वटा स्कुलमा बिस्तार भएको यसका अभियन्ता मध्येका एक लिजन मास्केले जानकारी दिनुभयो ।

मास्केका अनुसार हाल सिड्नीको क्याम्पसी सामुदायिक विद्यालय, काल्टन साउथ सामुदायिक विद्यालय, ग्रान्भिलसामुदायिक विद्यालय, र मक्वाइरी फिल्ड सामुदायिक विद्यालयमा नेपाली र भाषा र संस्कृतिको पढाई हुन्छ । त्यस्तै नर्मेन हस्र्टस् र द पोण्डस् सामुदायिक विद्यालय मा पनि नेपाली भाषा पढाई हुन्छ । यी विद्यालयहरुमा हरेक आइतबार बिहान १० देखि १२ बजेसम्म नेपालीमुलका बालबालिकालाई नेपाली र भाषा र संस्कृतिका बारेमा शिक्षा दिइन्छ । हाल यी विद्यालयमा २ सय ५० भन्दा बढी नेपालीमुलका बालबालिका अध्यनरत छन् । २५ जना भन्दा बढी शिक्षकहरुले स्वयमसेवकका रुपमा नेपाली भाषा पढाउदै आएको समेत मास्केले बताउनुभयो ।

शब्दमाला विद्यालयमा पढ्ने नेपालीमुलका बालबालिका Photo- शब्दमाला विद्यालय

उच्चमाध्यमिक तहमा नपुगिञ्जेलसम्म विद्यार्थीहरुले भाषा पढ्न सक्ने समेत मास्केले जानकारी दिनुभयो । विद्यालयले वर्षमा १० हप्ताको ४ वटा चरणमा भाषा पढाउदै आएको छ । जसका लागि चार तहको पाठ्यक्रम समेत उपलब्ध छन् । पाठ्यक्रममा नेपाल, नेपाली भाषा, नेपालको इतिहास, संस्कृति तथा चाडपर्व बारे समेटिएको छ । खासगरी विषयगत रुपमा छलफल गरि भाषा पढाइदै आइएको समेत मास्केले जानकारी दिनुभयो ।

शब्दमाला विद्यालयमा पढ्ने नेपालीमुलका बालबालिका Photo- शब्दमाला विद्यालय

विद्यालयमा बालबालिका पढाउन चाहाने अभिभावकले १० हप्ताको एक सय डलर शुल्क तिर्नुपर्ने अर्का अभियन्ता विष्णु घिमिरेले जानकारी दिनुभयो । त्यस्तै घिमिरेका अनुसार भाषा पढ्ने एक विद्यार्थीका लागि न्यु साउथ वेल्स सरकारको शिक्षा विभागले वर्षको १ सय २५ डलर खर्च समेत दिदै आएको छ । सरकारले दिने खर्च अपुग भएकाले अभिभावकसंग समेत केही शुल्क उठाउनु परेको घिमिरेको भनाई छ ।

विद्यालयले पायो नया संचालक समिति

शब्दमाला नेपाली भाषा विद्यालयले हालै नयाँ संचालक समिति प्राप्त गरेको छ । डिसेम्बर १२ मा भएको साधारण सभाबाट विष्णु घिमिरेको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति चयन भएको छ । दुइ वर्षका लागि चयन हुने संचालक समितिको उपाध्यक्षमा किरण भण्डार चयन हुनु भएको छ ।

त्यस्तै सचिवमा मुकेश बुढाथोकी, वित्तिय अधिकारीमा रोशन कर्माचार्य, सम्पर्क अधिकारीमा राजेश बज्रँचार्य, शैक्षिक संयोजकमा जया थापा सोदेम्बा र सहायक शैक्षिक संयोजकमा गायत्री कोइराला जमरकट्टेल चयन हुनु भएको छ । त्यस्तै ग्रान्भिल शाखा संयोजकमा बिजेन्द्र थपलिया र दिपक लामिछाने चयन हुनु भएको छ भने मक्वाइरी फिल्ड शाखा संयोजकमा रोशनी सुबेदी र पाण्डव राई छनोट हुनु भएको हो । त्यस्तै नर्मनहस्र्टस् शाखा संयोजकमा हरि सापकोटा र भानु चालिसे तथा द पोण्ड्स् शाखा संयोजकमा विजयी रेग्मी र गणेश खनाल चयन हुनु भएको छ । केही पद र शाखा संयोजकमा छनोट हुन बाकी छ । नेपालट्युबसंग कुरा गर्दै नवनियुक्त अध्यक्ष घिमिरेले विद्यालयलाई थप सुधार गर्दै लाने बाचा गर्नुभयो ।


ट्याग : #nepali school in Sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ