Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजबाट नेपालमा दैनिक ६४ आन्तरिक उडान, यात्रुका लागि तोकिए यस्ता मापदण्ड

आजबाट नेपालमा दैनिक ६४ आन्तरिक उडान, यात्रुका लागि तोकिए यस्ता मापदण्ड


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रका लागि जारी भएको निषेधाज्ञाका कारण बन्द भएको आन्तरिक उडान आजदेखि सुरु भएका छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित गरेको हो । उडान नियमित गरिए पनि हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी आजबाट आन्तरिक उडान सुरु भएको जानकारी दिएको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

कुन गन्तव्यमा कति उडान ?
बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान भर्नेछ । तुम्लिङटार र सुर्खेतका लागि एक उडान हुँदा भद्रपुरका लागि तीन उडान तय भएको छ । सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने तालिका रहेको छ । यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ । श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई-दुई उडान भर्नेछ । सौर्य एयरको जहाजले काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडान भर्नेछ । मनसुन र पर्यटकीय सिजनसमेत नभएका कारण दुर्गममा यात्रुको चाप कम छ भने शहरी क्षेत्रमा उडानसँगै यात्रुको चाप बढी देखिएको छ ।

यात्रुले उडानका क्रममा जान्नैपर्ने तथ्य
हवाइ यात्रुका लागि विमानस्थल प्रवेश गरेदेखि गन्तव्यको विमानस्थलबाट नबाहिरिएसम्म मास्क अनिवार्य गरिएको छ । विमानस्थलमा तोकिएको मार्किङमा उभिएर सामाजिक दूरी पालना गर्नुपर्ने छ । जहाजभित्र शौचालयको प्रयोग बन्द गरिएको छ । बदाम, जुसजस्ता जहाज यात्राका क्रममा खानेकुरा दिने सेवा समेत रोकिएको छ । कोरोनाको लक्षण भएका यात्रुले जहाज चढ्न पाउने छैनन् । विमानस्थलमा ज्वरो नापेर मात्र प्रवेश दिने गरिन्छ ।

साविकको तुलनामा सामाजिक दूरी बढी होस् भनी प्रतिघण्टा ५ वटा मात्र उडान हुने गरी तालिका मिलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । एउटा विमानले उडानका लागि विमानस्थलमा १० मिनेट हाराहारिको समय पाउने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ